शिद्ध गुफा भित्रका आकृति (तस्बिरहरु)

काठमाडौं । तनहुँको पृथ्वी राजमार्ग विमलनगरमा पर्छ नेपालकै ठूलो दाबी गरिएको शिद्ध गुफा । जहाँ हरेक दिन बाह्रिय तथा आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।
गुफाको भित्र पट्टि गहिरो भाग भित्र माथि उचाइमा चुन ढुङ्गा पग्लेर बनेको शिद्ध बाबाको आकृति रहेको छ । जसले गर्दा यो गुफाको नाम शिद्ध गुफा राखिएको हो ।
विमलनगरबाट करिब १ किलोमिटर माथिसम्म सवारी साधनमा जान सकिन्छ । त्यहाँबाट करिब ४५ मिनेट उकालो बाटो हिँडेर गुफा पुगिन्छ ।
गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्रीको सबै थकान मेटाउँछ । उचाइमा रहेको यो गुफाबाट विमलनगर बजार लगायत गोरखा जिल्ला पनि देखिन्छ ।
यहाँबाट बन्दिपुर पनि जान सकिन्छ । धेरै जसो पर्यटकहरू बन्दिपुरबाट शिद्ध गुफा आउने गर्छन् ।
गुफा भित्र विभिन्न प्रकारको प्राकृतिक आकृतिहरू रहेको छ । गुफा भित्र समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गर्दछन् ।
गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ राजाको श्रीपेच, भगवानको मूति, चराचुरुङ्गी र जनावरका आकृति, हात्तीको सुँड, घोँडाको खुट्टा, शङ्ख जस्ता आकर्षक आकृतिहरू हेर्न पाइन्छन् ।
गुफा भित्र बढेमानको बैठक कोठा जस्तै भाग पनि देखिन्छ । जसमा विभिन्न संस्थाले गुफाको प्रवर्धन गर्न बैठक, टेवलटेनिस प्रतियोगिता तथा साहित्य सम्मेलन जस्ता गतिविधिहरू गर्ने गर्दछन् ।
गुफा भित्र घामको प्रकाश नहुने भएकोले चमेराहरू प्रशस्तै देख्न सकिन्छ । गुफा भित्र विभिन्न फिल्मको सुटिङ पनि गरिएको गाइड अर्जुन परियारले बताए । उनले भने, ‘वि.सं. २०४४ मा चन्द्र बहादुर थापामगरले यो गुफा पत्ता लगाउनु भएको थियो । उहाँले गुफा पत्ता लगाए पछि बन्दिपुरका बासिन्दाहरू आएर गुफाको विवरण पत्ता लगाएर यहाँ यस्तो गुफा रहेछ है भन्ने पत्ता लागिएको हो । यहाँ घुम्ने सिजनको बेला गुफा हेर्नको लागि धेरै पर्यटकहरू आउने गर्दछन् ।’









