समाजवाद घोषणा गर्ने समय भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय नभएको बताएका छन् ।
आइतबार को राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताए । उनले समाजमा रहेको अराजकता नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
उनले समाजवादको दिशामा अघि बढ्ने कुरा राम्रो भए पनि समाजवाद घोषणा गरिहाल्ने समय नभएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘माननीय प्रश्नकर्ता मान्य ज्यु समाजवादकै बारेमा चिन्तन गरेर, मनन गरेर, दिमाग खेलाएर परिपक्व उमेरमा पुग्नुभएको मान्छे । यस्तो अवस्थामा, यतिबेला समाजवाद तत्काल घोषणा गरेर हुने कुरा हो र ? अराजकता यस्तो छ, समाजमा घोषणा गरेर समाजवाद होला । यो अराजकता नियन्त्रण गर्नु पर्दैन ? सामाजिक सञ्जाल यस्तो छ । अहिले त्यो १५ गतेको घटनाको कोही माइबाब भेटिँदैन, को आयोजक ? समाजवादतर्फ अघि बढ्ने नै हो । तर समाजवाद घोषणा गर्ने बेला भएको छैन । त्यस दिशामा अगाडि बढ्ने हो ।’
प्रधानमन्त्री ओलीले सरकार समाजवादको दिशामा अघि बढिरहेको बताए ।








