विपद् व्यवस्थापनसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारको तर्फबाट तयारी बढाउन अनुरोध गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उनीहरूले अब मनसुन सुरु भई देशव्यापी रुपमा प्राकृतिक विपद्का कारण धनजनको नोक्सानी व्यहोर्नुपर्नेतर्फ ध्यानाकर्षण गरे ।
सांसदहरूले विपद्का कारण हुने सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्व तयारी तथा प्रतिकार्य र सतर्कता अपनाउन पनि सरकारको ध्यानाकर्षण गरे ।
उनीहरुले भारत र पाकिस्तानका बीच हिजो भएको युद्ध बिरामको स्वागत गर्दै शान्ति र समृद्धिका पक्षमा समग्र विश्व एक हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा सांसद नारायणदत्त मिश्रले बाढी तथा प्राकृतिक विपद्का कारण जोखिममा रहेका कैलाली जिल्लाको पूर्वी भेग टीकापुर र भजनी नगरपालिका लगायतका क्षेत्रलाई जोगाउन आवश्यक पहल होस् भने ।
सांसद भुवनबहादुर सुनारले बाढी, पहिरो र डुवानले सडक, पुल र मानव बस्ती जोखिममा पर्न सक्ने अघिल्ला वर्षका दृष्टान्तलाई मध्यनजर गरी समयमै सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गरे ।
सांसद लक्ष्मी गैरेले वर्षायाममा नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासीको विनय–त्रिवेणी खोला अवरुद्ध भई आवतजावतमा समस्या आउन सक्ने देखिएकाले सो स्थानमा निर्माणाधीन पुल समयमै तयार गरियोस् भने ।
यस्तै, सांसद सुरेशकुमार आलेले तनहुँ जिल्लाको आँबुखैरेनी र भरतपुर घुमाउने जोड्ने त्रिशूली नदीमाथिको ‘मोटरेवल’ पुलको निर्माण सुस्त भएकोतर्फ सरकारको ध्यानाकर्षण गरे ।
सांसद कमला पन्तले बजारमा रासायनिक मल छ भनिए पनि किसानले पाउन नसकेको भन्ने गुनासो आइरहेकाले वितरण व्यवस्थापनमा ध्यान दिन सरकारसँग अनुरोध गरिन् ।
यसैगरी, सांसद कृष्णप्रसाद पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ तथा समग्र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको यथार्थलाई दृष्टिगत गरी आवश्यक व्यवस्थासहित समस्या समाधान गर्न माग गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले काठमाडौँको तीनकुनेमा गत चैत १५ गते पूर्व राजा समर्थकको नाममा भएको प्रदर्शनका क्रममा क्षतिग्रस्त जडीबुटी प्रशोधन केन्द्रको सञ्चालनका लागि ध्यानाकर्षण गराइन् ।
सांसद दुर्गाकुमारी गुरुङले कर्णालीमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने समय पटकपटक सारेकामा असन्तुष्टि व्यक्त गर्दै आगामी मङ्सिरदेखि चैत महिनाभित्रमा उक्त प्रतियोगिता आयोजना गर्न माग थियो ।
सांसद युवराज शर्माले सरकारको बढ्दो बेरुजु रकम फछ्र्योटका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।
शून्य समयमा भाग लिँदै सांसद सोनाम गेल्जेन शेर्पाले गत वर्ष हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त अवस्थामा रहेको सोलुखुम्बु जिल्लाको थामे गाउँको पुनःस्थापनाका लागि आगामी वर्षको बजेटमार्फत सम्बोधन गरियोस् भने ।








