राष्ट्रिय सभा शुन्य समय : ‘पूर्वराजा शाहलाई तत्काल पक्राउ गरी सम्पत्ति छानबिन गरियोस्’

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले विभिन्न विकास निर्माणलगायतका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नदीमा पुल बन्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले उक्त नदीमा पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने बारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरे । उनले टेण्डर मागको प्रक्रिया सुरु गर्ने भनेको ६ महिना भयो भन्दै अब कहिले निर्माण प्रक्रिया सुरु हुन्छ भन्दै प्रश्न गरे ।

उनले भने ‘मध्यपहाडी लोकमार्ग नेपालको राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजनाले पूर्वपश्चिमका २६ जिल्लामा यातायातको सञ्जाल बिस्तार गर्ने उद्देश्य राखेको छ । तर जाजरकोटको मन्ताबीर र रुकुम, चौरजार र कुदु जोड्ने भेरी नदीमा सडक पुल हालसम्म नबन्दा हालसम्म उक्त आयोजनाले गति लिन सकेको छैन । मध्यपहाडी पुलको टेण्डर छिट्टै हुने भनेको पनि ६ महिना बितिसकेको छ । हाल अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको सहमति गर्न नसकिएको भन्ने छ यसको सत्यतथ्य के हो ? के कति कारणले टेण्डर हुन सकेको छैन र कहिले हुन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत जवाफका लागि जोडदार माग गर्दछु ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले नेपाल र चीन जोड्ने दोलखाको लामाबगर नाका सञ्चालनमा सरकार उदासीन देखिएको बताए । उनले पर्यटनलगायत आयात र निर्यातबाट उल्लेख्य राजश्व वृद्धि हुने भएको उक्त नाका सञ्चालन र पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘नेपाल र चीनबिचको पुरानो व्यापारिक नाकामध्ये दोलखा जिल्लाको लामाबगर नाका पनि एक हो । विगतमा उक्त नाकाबाट नेपाल र चीनबिच व्यापार हुने गरेको थियो । नेपालले उल्लेख्य राजश्व समेत संकलन गर्ने गरेको थियो । सोही नाका हुँदै त्रिदेशीय व्यापार गर्ने उद्देश्यका साथ २० को दशमै भन्सार अध्यागमन लगायत कार्यालयहरू स्थापना गरिएको थियो । २०५२ देखि सुरक्षाको कारण देखाउँदै उक्त नाका सञ्चालन हुन सकेको छैन । आयात निर्यात र पर्यटनको माध्यमबाट नेपालले उल्लेख्य लाभ लिनसक्ने परिस्थिति हुँदा पनि सरकारले सरकारको उदासीनता निन्दायोग्य छ । तसर्थ ३ किलोमिटरको सडक जोड्न बाँकी रहेको नेपाल चीन र भारत जोड्न नाका जोड्नक लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’

नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले काठमाडौं–नारायणगढ बुटवलको सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा सरकारको ध्यानाकर्षण गराइन् । उनले निर्माणका लागि सबै ठाउँमा एकैपटक सडक भत्काएर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्ने परेको बताइन् । उनले पटकपटक म्याद थप्दा पनि सडक निर्माण सम्पन्न हुन नसक्नुको कारण सरकारसँग माग गरिन् ।

उनले भनिन् ‘काठमाडौं नारायणघाट बुटवलको सडक लामो समयदेखि अवरुद्ध हुँदा धेरै नागरिकले सास्ती भोग्नुपरेको छ । नारायणघाट बुटवल दूरी जम्मा दुई तीन घण्टाको हो । तर अहिले १५ देखि २० घण्टा लाग्ने गरेको छ । चाइनिज कम्पनीले निर्माण गर्ने जिम्मा लिएको यो सडक दुई पटक म्याद थप्ता पनि निर्माण पूरा हुन नसक्नुको कारण के हो ?’

नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले चैत १५ को घटनाका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले तत्काल पक्राउ गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । उक्त घटनाका सहायक कमान्डरहरू जेल भएपनि मुख्य कमान्डर शाहलाई सरकारले पक्राउ गर्न नसकेको उनको भनाइ छ ।

दरबार हत्याकाण्डका समेत योजनाकार समेत शाह भएको भन्दै सरकारले गिरफ्तार गरी सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने ‘चैत्र १५ गने भएको वितण्डाले देश मर्माहित भएको छ । त्यसको सहायक कमान्डर गिरफ्तार गरिएका छन्, सहायक कमान्डर जेलमा छन् तर मुख्य कमान्डर समातिएका छैन । मुख्य कमान्डर भनेका प्रतिगमनका मुख्य नायक ज्ञानेन्द्र शाह हुन् । ज्ञानेन्द्र शाहलाई अहिले पनि सकारले समाउन सकेको छैन । दरबार हत्याकाण्डका मुख्या योजनाकार पनि तिनै हुन भन्ने सर्वत्र चर्चा छ । ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरियोस् र सम्पत्तिको पनि छानबिन होस् ।’

राष्ट्रिय सभा सदस्यहरूले आर्थिक अनियमितता भ्रष्टाचारका उजुरी तथा राष्ट्रिय गौरवका आयोजनाहरूको कामकारबाहीबारे सरकारको ध्यानाकर्षण गराएको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =