गभर्नर पदमा नाम सिफारिस समिति सदस्यमा अधिकारीलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो ।

आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले उक्त जानकारी दिए । बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि संयुक्त राज्य अमेरिका जान बिदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

उनको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएका कार्य गर्न सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथीमा र दुई जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई पोसाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म क्यानडामा आयोजना हुने ग्लोबल कन्फ्रेन्स फर अ कास्ट–फ्रि वल्र्ड, २०२५ मा सहभागीका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, स्वास्थ्य बिमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुरा अस्पतालको आर्थिक वर्ष २०८१/८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले सरकारले नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८१ स्वीकृत गर्ने, बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने, नेपाल स्मार्ट सहरसम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गर्ने, स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने सरकारको निर्णयसमेत गरेको बताए ।

बैठक सरकार र शिक्षक महासङ्घबीच भएको नौ बुँदे सम्झौता सम्बोधन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । उनका अनुसार आगामी जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने छैटौँ प्लेनरी मिटिङ अफ द ग्लोबल अपरेसन नेटवर्क अफ एन्टी–कोअपरेसन ल इनफोर्समेन्ट अथोरिटिज मा सहभागी हुन दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा हरि पौडेललाई स्वीकृति प्रदान गरेको छ ।

साथै आगामी जेठ १३ गतेदेखि १७ गतेसम्म जापानको काउन्टर टेरोरिजम युनिटका पदाधिकारीहरूसँगको छलफलमा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =