कोही पनि नागरिकता बिना राज्यविहीन नहोस् : सभापति खतिवडा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकता नपाएर राज्यविहीन बन्नुपर्ने अवस्था नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित ‘सुगौली सन्धी र नेपालमा नागरिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै खतिवडाले हाल आमाको नामबाट छोराछोरीलाई नागरिकता प्रदान गर्ने विषयमा ल्याइएको विधेयकप्रति सरकार गम्भीर रहेको उल्लेख गरे । उनले भने, ‘सरकारको चाहना हो, कोही पनि नेपाली नागरिक नागरिकता कार्ड नपाएर राज्यविहीन नहोस् ।’
सभापति खतिवडाले नागरिकता विधेयकलाई समितिमा विस्तृत रूपमा छलफल गरिने जानकारी दिँदै सम्बन्धित पक्षहरूलाई समेत आमन्त्रण गरेर राय संकलन गरिने बताए । विधेयकमा सम्भावित त्रुटिहरू सच्याउँदै सबैलाई समेट्ने खालको कानून निर्माण गर्न समिति प्रतिवद्ध रहेको उनले स्पष्ट पारे । ‘कानून निर्माण गर्दा कतै लुप होल्स वा ल्याप्सहरू छन् भने त्यसलाई सच्याउने हाम्रो लक्ष्य हो,’ खतिवडाले भने, ‘राज्यले सबैको आवाज सुनेर मात्र कानून बनाउनु पर्छ । जसले गर्दा कोही पनि कानूनी अप्ठ्यारोमा नपरोस् ।’








