एमालेको दाबी- नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्छ

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने बताएका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले तीन तहको सरकारबीच समन्वय, सहजीकरण र सहअस्तित्वको माध्यमबाट नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिता बढाउन खोजेको बताए । उनले नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने विश्वास समेत व्यक्त गरे ।
उनले भने ‘नीति तथा कार्यक्रमले अहिलेका विद्यमान आर्थिक समस्याहरूको समाधान हुने बाटो दिन खोजेको छ । तीन तहको सरकारको समन्वय, सहजीकरण र सहअस्तित्वको माध्यमबाट प्रभावकारिता हासिल गर्ने कुरालाई यसले जोड दिएको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिन खोजेको पनि हामीले पाएका छौं । भोलिको दिनमा सरकारले बजेट बनाउँदा नीति तथा कार्यक्रमलाई समावेश गरेर जाने स्थिति बन्दाखेरि आर्थिक समृद्धिलाई यसले नयाँ ढंगबाट अगाडि बढाउनको लागि यसले मद्दत पुर्याउनेछ । निराशामा रहेका जनतलाई आशामा रूपान्तरण गर्नको लागि विविध पक्षबाट मद्दत पुर्याउनेछ ।’
नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गर्न सकिए मुलुकमा रहेका विद्यमान आर्थिक, सामाजिक समस्याहरू हल हुने उनको दाबी छ ।








