सीपमुलक जनशक्ति रोजगारीमा जोडिए मात्रै सम्भव छ समृद्ध नेपाल : प्रधानमन्त्री ओली

श्रमिक दिवसको अवसरमा ‘श्रम संसार’ पोर्टलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सीपमुलक जनशक्तिलाई रोजगारीमा जोड्न अत्यावश्यक रहेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार बालुवाटारमा आयोजित एक समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रारम्भ गरेको ‘श्रम संसार’ पोर्टलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले श्रमिकको कल्याण र महिलाको आत्मनिर्भरताले मात्रै मुलुकले दीर्घकालीन समृद्धिको यात्रामा अघि बढ्न सक्ने धारणा व्यक्त गरे । ‘श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘वैदेशिक रोजगारीमा देखापरेका चुनौतीहरूको नियन्त्रण गर्नुपर्ने बेला आएको छ ।’

उनले श्रमिक र रोजगारसम्बन्धी सबै सेवा जनताको घरदैलोमा पुर्‍याउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । ‘म बजारको विकासका लागि सीपमूलक तालिम, उद्यमशिलता अभिवृद्धि र सहुलियतपूर्ण कर्जाजस्ता सरकारी सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन ‘श्रम संसार’ एक डिजिटल अभ्यास भएको प्रधानमन्त्रीको भनाइ थियो ।

उक्त पोर्टललाई छिट्टै नागरिक एपसँग समायोजन गरी अझ व्यापक पहुँच सुनिश्चित गरिने बताउँदै उनले डिजिटल अर्थतन्त्रको विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगारीको दशक’ का रूपमा घोषणा गर्दै रणनीतिक कार्ययोजना निर्माण गरिरहेको जानकारी दिए । ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, त्यतिबेला मात्र समृद्ध नेपाल सम्भव हुन्छ,’ उनले भने ।

उनका अनुसार सरकार, निजी क्षेत्र र आम नागरिकबीचको समन्वयकारी पुलको रूपमा ‘श्रम संसार’ अगाडि बढ्नेछ । श्रम, रोजगार र सामाजिक सुरक्षाका सबै पक्षमा डिजिटल पहुँच विस्तार गर्दै जानु आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =