काठमाडौं आइपुगे भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले


काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले आज बिहान तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनको भ्रमणलाई नेपाल-भारत सम्बन्धमा राजनीतिक संवादलाई थप सशक्त बनाउने कूटनीतिक प्रयत्नका रूपमा हेरिएको छ ।
भ्रमण अवधिभर उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका शीर्ष नेताहरू, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मधेशी मोर्चाका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राजनीतिक स्थायित्व, आपसी विश्वास र क्षेत्रीय सहकार्यको सन्दर्भमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।
भाजपाका वरिष्ठ नेता चौथाईवालेको भ्रमण नेपालको सबै प्रमुख राजनीतिक दलहरूसँग सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले गरिएको जनाइएको छ । उनको आगमनले नेपाल-भारतबीचको पारस्परिक हित र सहकार्यका विषयमा पुनः बहस र चासो बढाउने विश्वास गरिएको छ ।
