मौसम अपडेट : चट्याङ, वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रभावका कारण विशेषगरी कोशी प्रदेश र देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा देखिएको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा अहिले नै चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ । दिउँसोको मौसम पूर्वानुमानअनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र ती क्षेत्रका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्नेछ । साथै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ ।
आज राति पनि मौसममा उल्लेख्य परिवर्तन देखिनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रका केही स्थानहरूमा हिमपातको सम्भावना छ ।
महाशाखाले यस्ता मौसमी गतिविधिका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य, सवारी आवागमन तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
