निराशाको खेतीले राष्ट्रलाई कमजोर बनाउँछ : पर्यटनमन्त्री


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले अहिले आशाभन्दा बढी निराशाको संप्रेषण भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताएका हुन् ।
उनले यस प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रुपमा चित्रण गरिरहँदा युवाहरुको जमातमा नकारात्मक प्रभाव पर्ने र मुलुक बन्दैन भनेर विदेश पलायन हुने अवस्था बढ्ने र झन मुलुक निर्माणमा समस्या थपिने बताए ।
मन्त्री पाण्डेले सबै राजनीति र सामाजिक क्षेत्रमा स्वच्छ मानिसहरुको खोजी भइरहेको र अब गुणस्तरीय काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारे ।
उनले भने– ‘समाजमा अहिले आशा भन्दा बढी निराशाको खेती भइरहेको जस्तो देखिएको छ । यसले हाम्रो राष्ट्र र समाजलाई कमजोर बनाइरहेको छ । हामी प्रौढ अवस्थामा प्रवेश गरिसकेकाहरु पनि कुरा गर्छौं यो देश बन्दै बन्दैन जे भइरहेको छ सबै नराम्रो भइरहेको छ र जति छौं हामी सबै खलपात्रको रुपमा छौं भनेर चित्रण गर्न थाल्ने हो भने भर्खर किशोरावस्थामा प्रवेश गरेकाहरु यो देश बन्दैन भनेर भाग्न खोज्छन्, पलायन हुन खोज्छन् । त्यसो हो भने त झन यो देश बन्दै बन्दैन ।’
उनले मुलुक संघीयतामा गएपनि बजेट बनाउने समयमा भने वडादेखि पालिकासम्मका योजना मन्त्रालयमै आउने भएकाले जटिलता कायमै रहेको बताए ।
