कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन : मुख्यमन्त्री साह

काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार औपचारिक भ्रमणमा गएका छन् ।

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिए ।

उनले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताए ।

उनले भने– ‘भर्खरै भारतमा भएको आतंककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । र कुनैपनि किसिमको आतंककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्वीकार्न तयार छैन । यो सन्दर्भमा समग्र विश्व र भारत सरकारपनि यो दिशामा अगाडी बढेको महशुस गरेको छु । म मृतकहरुप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु । र यस्ता घटनाहरु नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकतावद्ध भएर अघि बढ्नु जरुरी छ । संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धीमुलक हुने बताए ।

प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराए ।

उनले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताए ।

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार—सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *