अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरूको सम्बोधन हुनेगरी ल्याइने बताएका छन् ।
आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरूलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानून संशोधन गरेको उनको जिकिर छ ।
सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न कानूनी र संरचनात्मक प्रबन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए ।
उनले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गरे ।
उनले अस्थिरतावादी प्रवृत्तिहरू स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेख गर्दै सफल हुन नदिइने बताए ।
उनले भने, ‘मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरू भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन् । अस्थिरतावादी, प्रतिक्रियावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरू सक्रिय छ । यदाकदा त्यसमा लोकप्रियतावादी पनि त्यसमा मिसिन पुग्छ । यो खालको प्रवृत्ति चाँही मुलुकमा अस्थिरता सिर्जना गर्ने कोशिस गरिरहेको छ । तर के विश्वास दिलाउन चाहन्छु भने अस्थिरता निम्त्याउन गरि कोसिसहरू नाकाम र निरर्थक हुनेछन् ।’
उनले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरू सकारात्मक दिशातर्फ अभिमुख रहेको बताए । उनले जनता र सरकारबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरूको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वास समेत दिलाए ।
