प्रतिपक्षले संसद अवरुद्ध पार्नु संविधान विपरित : एमाले सांसद बर्तौला

काडमाढौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरुले सदनमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गरेका छन् ।
बिहीवार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले कुलमान बर्खास्तीको विषय अदालतको क्षेत्राधिकार भित्र प्रवेश गरिसकेको उल्लेख गर्दै उहाँले सोही विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गर्नु संविधान विपरित भएको बताए ।
प्रभावित व्यक्ति न्यायको लागि अदालती प्रक्रियामा गइसकेका कारण संसदमा बहसको विषय बनाउन जरुरी नभएको उनको भनाइ छ । प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकार जवाफ दिन तयार रहेको भएपनि व्यक्ति विषेशको जवाफ माग गर्नु बेठिक भएको उनको भनाइ छ ।
उनले भने,‘अपोजिसनले अदालतको क्षेत्राधिकार भित्र प्रवेश गरेको विषयलाई जबरजस्ती संसदको ब्यानर बनाएर संविधानविपरित अदालतको न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्ने कुरा यो आफैंमा बेठिक छ । सडकमा नाराबाजी गर्ने, पुत्ला दहन गर्न लगाउने, मसाल जुलुस लगाउने र हाउसमा समेत अवरोध गर्ने कुराले अदालतलाई प्रभावित पार्ने मनसाय देखिन्छ । यस्तो कुरा लोकतन्त्रमा बेठिक हुन्छ ।’
सरकारको नीति र निर्देशन नमानेको कारण प्राधिकरणबाट कुलमानलाई हटाइएको समेत उनले स्पष्ट पारे ।








