सत्तामोहले लोकतान्त्रिक अभ्यासमा समस्या आयो : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न समेत चेतावनी दिए । आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमीकमजोरी सच्याउनसक्छौं कि सक्दैनौँ भन्ने डर रहेको बताए । उनले संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जन आवश्यकताअनुसार कानुन बनाउन नसक्नु कसको दोष हो ? भन्दै प्रश्न गरे ।
उनले भने ‘हामीले संविधान निर्माण भएपनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपर्थ्यो । गणतन्त्र र जनताको जनजिविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरूबिच र नेतहरुबीच कुर्सीको छिनाझप्टि, सत्तामोह, एकअर्काप्रतिका गालीगलौँच र लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन् । मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदैछैन । हाम्रा कमीहरू सच्याउन सक्छौँ कि सक्दैनौँ भन्ने डर मात्र छ । संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकारको प्रयोग गर्ने, जनचाहाना, आवश्यकताअनुसार कानुन बनाउन नसक्नु हामी कसको दोष हो ?’
प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रीकृत मानसिकताको गल्ती हो भन्ने स्विकार्न गल्ती गर्न नहुने उनको भनाइ छ ।








