सरकारको शासकीय शैलीका कारण राजावादीहरू सक्रिय भए : प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले राजावादीहरू सक्रिय हुनुको पछाडि सङ्गठित प्रयास रहेको आशंका व्यक्त गरे । उनले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलहरू समेत मिसिएको बताए ।

उनले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रको इतिहास समेत मौलिक र उदार रहेको बताए ।

उनले भने ‘राजावादीका पछि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आज मात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए । तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ । पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाइ छैन । आज म चेतावनीका साथ भन्न चाहन्छु नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ । तर नेपाल त्यसको अपवाद बन्यो ।’

उनले पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =