एनएभिटी र नाडाबीच लागत साझेदारीमा हस्ताक्षर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज देखि काठमाण्डौमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । सो सम्मेलन २७ गतेसम्म चालु रहनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्धन भन्ने नाराकासाथ सो सम्मेलन आज देखि प्रारम्भ भएको हो ।
नाडा, सो सम्मेलनको वित्तीय सहयोगिभई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ । नाडा आफ्नो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो ।
सो सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्रीको समुपस्थितिमा सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MOU) मा हस्ताक्षर समेत सम्पन्न भएको छ ।
सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका छन् । यसले रोजगारी र श्रमिकहरूको अभिवृद्धिका लागि सरकार र नेपालको नीजिक्षेत्र समन्वयात्मक रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा निजी क्षेत्रलाई समेत सहभागी गराई अघि बढ्ने संकल्पको रुपमा लिएको छ ।
उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरू समेत दिएका छन् ।
आफनो प्रस्तुतिको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढ्दो बसाइ सराइले पारेका प्रभावहरू, नेपाली विद्यार्थीहरूले अन्य मुलुकहरूमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरू, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरू, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरूका विषयमा तथ्याङ्कगत प्रस्तुति दिएका थिए ।
उक्त सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।
