ढुक्क रहनुस्, यो सरकार भिजनसहितको स्थिर सरकार हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भिजनसहितको स्थिर सरकार भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही बाटोमा यो सरकार अघि बढ्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु ढुक्क रहनुहोला, यो सरकार भिजनसहितको स्थिर सरकारको हो । यही बाटोमा यो सरकार अघि बढ्छ ।’
उनले कर्णाली विकासको सुन्दर सम्भावना बोकेको प्रदेश भएकाले यहाँका माथिल्लो कर्णाली, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली करिडोर, राकम कर्णाली, भेरी बबइ, दैलेखको पेट्रोल खानी, आदि आयोजना निर्माण, विस्तार सञ्चालनका क्रममा रहेको अवगत गराउँदै स्रोत सुनिश्चितता बिना नयाँ आयोजना बनाउने बेथितिमा सुधार ल्याइएको जनाए ।
ओलीले जनताको बलिदान र सङ्घर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताए ।








