संसद बाहिर शक्ति खोज्नु नेपाललाई टुक्र्याउने काम मात्र हो : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन् बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन समेत चेतावनी दिए । अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावना समेत संसदमै रहेको उनको भनाइ छ ।

उनले भने ‘राजा रहनु बेठिक हो । म फेरि पनि भन्छु तपाई राजगद्दी छोडेर जनता बन्नुस्, पार्टी खोल्नुस् । जनताको बीचमा गएर प्रधानमन्त्री भएर देखाउनुस् । राजावादीले चाहेर हुने वा नहुने भन्ने विषय होइन । नेपाली जनताले निर्णय गर्ने हो । कुनै वादी भएर पनि टुंगो लाग्दैन । अहिले नेपाल कहाँ छ त भन्दा हाम्रो देशको संसदमा छ । यो संसदमा दुई वटा सदन छन् । हाम्रो देशको शक्ति पनि यही छ, भावना पनि यही छ । राम्रो काम गरेपनि नराम्रो काम गरेपनि जनताको प्रतिनिधि संस्था भनेको संघीय संसद नै हो । संसदबाहिर शक्ति खोज्ने काम नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन् बढी नोक्सानतर्फ लैजाने काम मात्रै हो ।’

उनले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्परा विपरीत प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरूसँग मिल्ने प्रवृत्तिको विकास भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =