खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको भविष्य सुनिश्चित हुनेगरी सरकारले खेलकुद नीति ल्याएको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले त्यस्तो बताएका हुन् । उनले खेलाडीहरूको हक र सुविधाको कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषदमा पुगेको बताए । उनले खेललाई व्यावसायिक बनाउन निजी क्षेत्रको सहभागितामा प्रायोजनको व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताए ।

खेलाडीको खेल अवधि निश्चित उमेर हुने भएकाले खेल जीवन सकिएपछि सरकारी र विभिन्न संस्थाहरूमा रोजगारी वा निवृत्तिभरण दिने व्यवस्था नयाँ नीतिमा रहेको उनको भनाइ छ ।

उनले भने ‘राष्ट्रिय खेलकुद नीति २०६७ लाई संशोधन गर्ने नीति मन्त्रिपरिषदमा पुगेको छ । जसमा खेलाडीहरूको हक, सुविधा र खेलकुद कार्यान्वयनका लागि समावेश गरिएको छ । साथै युवा तथा खेलकुद मन्त्रालयले प्रस्तावित खेलकुद नीतिको मस्यौदा अघि बढेको छ, जसले खेलाडीहरूको भविष्य स्वदेशमै सुनिश्चित हुने छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले निजी क्षेत्रलाई सहभागी बनाउने, स्पोन्सरसिपको अवसर सिर्जना गर्ने, क्लब फुटबल र लिग संरचना सुधार गर्ने योजनाहरू छ । एनपिएल, भलिबलको लिग, कबड्डीको लिग आदि भएका छन् । निजी स्तरमा फुटबलको लिग पनि हुँदैछ । खेल जीवन सकिएपछि सरकारी तथा अन्य संस्थामा रोजगारी उपलब्ध गराउने नीति लिएको छ ।’

मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा बहुवर्षीय योजनाका कार्यक्रम नभएको बताए । खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न नसकिएपछि खेलाडीहरू खेल क्षेत्र छोडेर वैकल्पिक पेसामा लागेको र कतिपय खेलाडी विदेश पलायन भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =