नैतिक मूल्य-मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् ।

‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए । उनले भने, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।”

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे ।

उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।

नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँहरूको योगदानको प्रतीक भएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा डा विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्‍याएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुहुने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवं नेपालको सङ्क्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

रेग्मी र उपाध्याय सम्मानित

सर्वोदय सेवाश्रमले यस वर्षको भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा डा विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ । ती दुवै पुरस्कार राष्ट्रपति पौडेलले उहाँहरुलाई हस्तान्तरण गरे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश रेग्मीलाई देशको कार्यकारी र न्यायालयको सर्वोच्च पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो । यस्तै उपाध्याय भट्टले योग चिकित्सा र प्रशासनको क्षेत्रमा अतुलनीय योगदान गरेकामा पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत व्यक्तित्व मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मानवता, नैतिकता र सच्चरित्रता जस्ता विषयको सिकाइ र शिक्षाबारे अध्ययन गराउन छाडिएकाले नैतिकता, सदाचार जस्ता मानवीय सच्चरित्रताका गुणहरू समाजमा ह्रासोन्मुख हुँदै गएको बताए ।

“मानिसमा आफ्नो र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ । अनुशासन, विनयशीलता र वाणीमा शालीनता हराउँदै गएको छ,” उनले भने,“अंहकार र दम्भको भावना बढेको पाइन्छ । यसैले व्यक्ति, समाजलाई विनयशील, चरित्रवान्, अनुशासित बनाउन नैतिक शिक्षा र सिकाई पद्धतिमै सुधारको आवश्यकता छ ।”

पूर्वअध्यक्ष रेग्मीले आफूले प्राप्त गरेको पुरस्कारको राशि मानवीय सेवा र सदाचारको प्रवद्र्धनमा उपयोग गर्नेगरी आफ्नै जन्मथलो पाल्पाको विद्यालयमा पढ्ने अनुशासन, सदाचार र राम्रो आचरणमा उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने गरी समर्पण गर्ने घोषणा गरे ।

अर्का पुरस्कृत व्यक्तित्व प्रा.डा.उपाध्याय भट्टले योग शिक्षा र योग विज्ञान हरेक मानिसको जीवनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै योग साधना, सदाचार र नैतिक चाचरणको प्रवद्र्धनका लागि सबै जुट्नुपर्ने खाँचो औंल्याए ।

सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले योग शिक्षा, मानव स्वास्थ्य, समाजिक सेवा, नैचिक सदाचार आदि विषयमा संस्थाले काम गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =