अमेरिकी रणनीति विश्व शान्तिको लागि होइन, स्वार्थ केन्द्रित : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीच भएको प्रत्यक्ष वार्ताले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने पाठ सिकाएको बताएका छन् ।

‘छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ ।’ फेसबुकमा लेख्दै महासचिव पोखरेलले भने । पोखरेलले रुस र युक्रेन दुवैका लागि युद्ध घातक भएको र युद्ध अन्त्यका लागि निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव नहुने बताउँदै एशियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एशिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

महासचिव पोखरेलले अमेरिकाको पछिल्लो रणनीतिले ‘अबको एशिया नै भूराजनीतिक द्वन्द्वको केन्द्र बन्न सक्ने’ चेतावनी दिएका छन् । साथै, गाजा क्षेत्र प्यालेस्टाइनीहरुबाट खोस्ने योजना र रुस–युक्रेन युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्व शान्तिको उद्देश्यसँग नजोडिएको महासचिव पोखरेलले उल्लेख गरे ।

महासचिव पोखरेलका अनुसार यी प्रयासहरुको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ । उनले यस्तो स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्ने र यस प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक रहेको जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =