‘सरकारले बनाउने कानून सरकारी संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद्’

काठमाडौं । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् ।
शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उद्योग तथा त्यहाँ कार्यरत श्रमिकहरुको समस्यामा समाधान गर्ने दायित्व सरकारको भएको बताए ।
उनले उद्योगहरुबाट आएको तथ्यपरक र प्रमाणमा आधारित सममस्याको समाधान गर्न सरकारले तदारुकताका साथ काम गर्न जरुरी रहेको बताए ।
उनले अहिले उद्योगधन्दा एवं कर्पोरेट हाउसहरु धराशायी बन्दै गएका उल्लेख गर्दै यसमा सरकार गम्भिर हुन जरुरी रहेको बताए ।
उनले नेपालमा उद्योगधन्दाहरु धराशायी हुने अवस्था किन सिर्जना भयो ? भन्दै प्रश्न समेत गरे ।
बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद हेमराज राईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिप्रति राज्य संयन्त्र नै जिम्मेवार नभएको आरोप लगाए ।
उनले उद्योगधन्दाहरुमा आएको समस्याप्रति सरकारका निकाय नै बेखबर हुनु दुःखद् भएको बताए ।
उनले कानून बनाउने निकाय सरकार भएपनि कार्यान्वयनको सवालमा सरकारका संयन्त्रले गैरजिम्मेवारीपन देखाउने गरेको बताए ।
उनले संसदले गरेको निर्देशन कार्यान्वयनमा राज्यका संयन्त्रहरुले तत्परता देखाउन जरुरी रहेको बताए ।








