विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधिन विधेयकलाई छिटो पारित गर्ने विषयमा कदम चाल्ने निर्णय गरेको छ । आइतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक महेश बर्तौलाले विधेयकहरुको प्रक्रिया छिटो अघि बढाउने बारेमा छलफल भएको जानकारी दिए । उनले संसदमा पेश भएका अध्यादेशहरुका बारेमा पनि छलफल भएको बताए ।
बर्तौलाले विगतका ४ वटा अधिवेशनको तुलनामा यस अधिवेशनमा बढी विधेयक पारित गर्ने लक्ष्य राखिएको बताउँदै, विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई पहिलो प्राथमिकता दिने कुरा पुष्टि गरे । सत्तापक्षका प्रमुख सचेतकहरुले वर्तमान अधिवेशनलाई विधेयक पारित गर्ने अधिवेशनको रुपमा अघि बढाउने कुरा उठाएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने, ‘हामीले यो अधिवेशनमा शिक्षा र संघीय निजामति विधेयकलाई प्राथमिकतामा राखेका छौँ । हाम्रो उद्देश्य विधेयकहरुलाई पारित गर्ने प्रक्रिया तिब्र बनाउनु हो ।’
नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि बैठकको उपस्थिति पछि यही कुरा पुष्टि गरे । उनले विधेयक पारित गर्नको प्रक्रिया ढिलो भएकोप्रति चिन्ता व्यक्त गर्दै अब यसलाई छिटो अघि बढाउने निर्णय भएको बताए । घिमिरेले थपे, ‘विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई कुनै पनि हालतमा यो सदनबाट पारित गर्नुपर्छ ।’
अध्यादेशका बारेमा पनि छलफल भएको र आगामी बैठकमा यसलाई कार्यसूचिमा समावेश गर्ने कुरा पनि छलफल गरिएको बताइएको छ ।








