नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि, प्रवासी सदस्यलाई अनलाइन मतदानको व्यवस्था

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।
शनिवार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् ।
उनले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् । उनले पार्टीले समावेशिताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी दिइन् ।
अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको आधारमा चयन हुने बताइन् । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताइन् ।
उनले भनिन् ‘हामी एउटा नयाँ एक्सपेरिमेण्ट गर्दैछौँ । समावेशीलाई साँच्चै त्यसको मर्मलाई समेटेका छौँ । हाम्रो पदाधिकारीमै समावेशी अन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाको आधारमा व्यक्तिगत प्रतिस्पर्धाको आधारमा छ भने उपाध्यक्ष ग्रुप प्रतिस्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट गर्दैछौँ । सिसिएमहरुलाई पनि उठ्नको लागि हामीले क्लस्टरको आधारमा सरकारले फलो गरेको प्रतिशतको आधारमा हामीले गरेका छौँ । यो हाम्रो लागि पनि चुनौती हो । यो राजनीतिक उडानको लागि पनि चुनौती हो ।’
नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभई समाधान पनि भएको बताए । उनले अहिले पुराना राजनीतिक दलहरूले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताको दोहन गर्ने काम गरिरहेको आरोप लगाए ।
नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताए । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताए । ३१ हजार पार्टी सदस्यहरू, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरू काठमाडौं आइसकेको जानकारी दिए ।
पुराना शक्तिहरुलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताए । उनले पार्टीका नेताहरू आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरु हुने उल्लेख गरे । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताए ।
पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताए । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि सुरु हुँदैछ ।








