पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।
शुक्रवार धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राखिन् । उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन् ।
परराष्ट्रमन्त्री डा.राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् । कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सयदिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषाभाषीका लागि कांग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राखे । उनले कांग्रेसकै नेतृत्वमा कमैयाप्रथा र दासप्रथाको उन्मूलन भएको इतिहास स्मरण गरिन् ।
उनले आगामी २०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर आफ्नो नीति कार्यक्रममार्फत जनताको मुहार फेर्ने अभियानमा पार्टी रहेकाले आवश्यक समन्वय र सहकार्य गर्न सम्पूर्ण पार्टी कार्याकर्तालाई आग्रह गरिन् ।
पार्टीका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको समारोहमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट,नृपबहादुर ओड, डा.रणबहादुर रावल, रामजनम चौधरी, डा.जीवन रानालगायत व्यक्ताले पार्टी सङ्गठनका बारेमा आ-आफ्नो धारणा राखेका थिए । अधिवेशनमा पार्टीको कार्ययोजनासहित विविध विषयमा छलफल हुने जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।








