खबर दिनभर : समृद्ध देश बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड,सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति

हामी तेलको उत्खनन गर्दैछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको उल्लेख गरे । उनले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश भएको उल्लेख गर्दै विधान र स्वाभिमानी देश भएको बताए ।
‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ । तीन वटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश हो । सधैँ स्वाधीन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्दछ,’उनले भने, ‘यसको भूगोल समृद्ध हुनसक्दछ । हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरू छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो ।’
उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए ।
नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिरहेको भन्दै कलंकको रुपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताए । ‘हामी तेलको उत्खनन गर्दैछौँ । हामी फलामहरूको उत्खनन गर्दैछौँ । हामी अनेक हिसाबले आत्मनिर्भर हुनसक्छौँ । त्यसकारण यो देश समृद्ध हुनसक्छ । हामीसँग मेहनती, बहादुर, प्रसिद्ध युवा जनशक्ति छ । यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ । नेपाली जनतालाई सुखी बनाउनु पर्दछ’ उनले भने ।
प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताए ।
संसदमा पेश भएका अध्यादेशका नियमावली पारित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
सरकारले हालै मात्र संसदमा पेश गरेका विभिन्न ६ वटा अध्यादेशहरुको कार्यसम्पादन नियमावली पारित गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरिएको एक मन्त्रीले बताए ।
गत शुक्रवार संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा विभिन्न ६ वटा अध्यादेश पेश भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका थिए ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरेका थिए ।
संसदमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका थिए ।
हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबिच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए । ‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबिच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’
उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे ।
सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए ।
सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए ।
प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे । उनले पोखरामा सुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्ग निर्देश गर्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए ।
पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू सङ्कलन गरी पुस्तिकालाई अन्तिम रूप दिने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेसको एक दिने सो प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सात वटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहेका छन् ।
पूर्वउपराष्ट्रपति पुन माओवादीको सक्रिय राजनीतिमा, उत्पादन विभागको जिम्मेवारी दिइयो
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्फिएका छन् । गत पुस २१ देखी २४ सम्म बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेपछि सोही अनुरुप पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिइएको हो ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिएको हो । यसअघि पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी भए पनि पार्टीमा विवाद भएपछि उनलाई उत्पादन विभागको जिम्मेवारी दिइएको हो । उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए ।
इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए
बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन् । बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ ।
सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताए ।
रु एक लाख सम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक शर्माले जानकारी दिए ।
गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये रु एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् । इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ ।
बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म पाँच सय ४७ पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित स¬ङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए । रु एक लाखसम्म बचत गर्ने चार सय ८८ बचतकर्ता छन् । रु एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी छ ।
बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका पाँच सय ४७ जनाको रु २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार बढी बचतकर्ताको रु एक अर्ब १५ करोड बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताए ।
सहकारीको करिब रु दुई अर्ब रकम हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट एक अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सहकारीको रकम अपचलन गरेको दाबीसहित देवकुमारसहित ११ जना विरूद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । एक हजार पाँच सय ४३ जनाको उजुरीका आधारमा अध्यक्ष नेपाली कारागारमा छन् ।
पाथीभरा केबलकार निर्माणको विरोधमा काठमाडौँमा प्रदर्शन
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै प्रदर्शन भएको छ । सोमबार काठमाडौँको माइतीघरमा सो विरोध प्रदर्शन गरिएको हो ।
‘नो केबलकार समूह’ ले विरोध प्रदर्शन गर्दै केबलकार निर्माण गरेर पाथिभराको धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
उनीहरूले ‘मुक्कुमलुङ संरक्षण प्रेमीहरू माथि गोली चलाउन पाइदैन्, राज्य आतङ्क बन्द गर १’ भन्दै विभिन्न प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।
आज आफूसँग भेट गर्न आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेका अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।
सिंहदरबारमा आज भएको भेटमा उनीहरूबिच दुई देशबिचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचार विमर्श भएको प्रेस संयोजक मल्लले बताए ।
भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यलाई भेटेको सुनाए ।
हमासको आक्रमण लगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताएका थिए ।
स्थायी सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका छन् : उपप्रधानमन्त्री
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताएका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै उनले संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
मुलुकमा राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले हाल स्थायी प्रकृतिको सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका बताए ।
“सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि पछिल्लो समय देशभर आशा जगाउने गरी काम अगाडि बढिरहेका छन् । मेरो नेतृत्वको सहरी विकास मन्त्रालयले पनि देशभर सुरक्षित र व्यवस्थित सहर बनाउने गरी काम गरिरहेको छ । यस कारण जसले जे भने पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म अगाडिठ बढ्छ”, उनले भने।
उपप्रधानमन्त्री सिंहले जनताको नजिक रहेको स्थानीय सरकारका समस्या समाधान गर्न माथिल्लो तहका सरकारबीच सहकार्य जरूरी रहेको धारण राखे ।
“तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेका हुन् । अब एकताबद्ध र सहकार्यको भावनाका साथ जनताको पक्षमा काम गर्न जुटौँ । त्यसका लागि केन्द्रीय सरकार प्रतिबद्ध छ”, उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रले गर्यो प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर
नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारीमा हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको हो ।
सुदूरपश्चिम,कोशी र गण्डकी प्रदेशमा इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छैन । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत राखिएको छ । यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिँदा सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् छन् ।
मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ भने बागमती प्रदेशमा सचिव हितमान शाक्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल तथा लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाललाई जिम्मेवारी दिइएको छ । साथै सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी सचिव लिलामणि पोखरेललाई दिइएको छ ।
यसैगरी एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ भने उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो ।
३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैङ्क शून्य दशमलव ३९, वित्त एक दशमलव ०७, होटल तथा पर्यटन शून्य दशमलव ०१, जलविद्युत् शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।
थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हरायो
राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा अल आउट भयो ।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन् । आइरिस विलिङले १३ रन जोडिन् । यस्तै, क्यारोलिन डी ल्यासले १० रन बनाइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले १२ रन जोडिन् ।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन् ।
नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो । यसअघि नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान तीनपटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भोलि थाइल्यान्डसँग खेल्नेछ ।
आइसिसीको टिम अफ द टुर्नामेन्टमा पूजा महतो
यु–१९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा नेपाली स्टार अलराउण्डर पूजा महतो पनि पर्न सफल भएकी छन् । पूजा विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडी भित्र पर्न सफल भएकी हुन् ।
आइसिसीले सार्वजनिक गरेको सूचिमा एसोसिएट राष्ट्रबाट नेपालकी पूजा मात्रै परेकी छन् । उनले विश्व कप ५ खेलमा २३।३३ को औसतमा ७० रन बनाएकी थिइन् ।
पूजाको नाममा ९ विकेट समेत रहेको छ । टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।








