काठमाडौंमा दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी कला प्रदर्शनी (तस्बिरहरु)

काठमाडौं । दक्षिण एसियाली महिला कलाकारहरूको नारीवाद, कला, र सक्रियतालाई केन्द्रमा राखेर कला प्रदर्शनीको आयोजना गरिएको छ । ‘फेमिनिस्ट फ्युचर: आर्ट, एक्टिभिज्म एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको यो प्रदर्शनी तारागाउँ सांस्कृतिक केन्द्र, बौद्धमा सुरु भएको छ ।
प्रदर्शनीको परिकल्पनाकार डा. अर्शिया लोखन्डवालाका अनुसार यसले दक्षिण एसियामा नारीवाद र लैङ्गिक राजनीतिका जटिल पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ । तारागाउँ नेक्स्ट र सराफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी तीन महिनासम्म खुला रहनेछ ।
यसमा भारत, नेपाल, श्रीलंका, पाकिस्तान, र बङ्गलादेशका १० जना महिला कलाकारका सिर्जनाहरू समावेश छन् । भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमालाका साथै नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी, र उमा विष्टले आफ्ना सृजनाहरू प्रदर्शन गरेका छन् । श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तैयबा बेगम लिपीले पनि आफ्नो कला प्रस्तुत गरेका छन् ।
प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच, र लैङ्गिक राजनीतिका विषयलाई सम्बोधन गर्दछ । कलाकारहरूले कलामार्फत महिला स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभावलाई चुनौती दिने प्रयास गरेका छन् ।
पहिलो दिन, अश्मिना रञ्जितले ‘सीता: द आइडियल वाइफ २०२५’ प्रस्तुत गरिन् । यो सृजनाले ब्राह्मण पितृसत्ताले महिलालाई कसरी सीमित बनाएको छ भन्ने देखाउन खोजेको थियो । रञ्जितले परम्परागत विवाह प्रथामा हुने ‘कन्यादान’ को आलोचना गर्दै महिलाको अधिकार र स्वतन्त्रतामाथि प्रकाश पारिन् ।
प्रदर्शनीले नेपालका महिला अधिकारको विषयलाई दक्षिण एसियाली देशका संघर्षहरूसँग जोड्न प्रयास गरेको छ। सराफ फाउन्डेसनकी संस्थापक निर्देशक नमिता साराफका अनुसार, यो प्रदर्शनी समकालीन मुद्दाहरूलाई अन्वेषण गर्न केन्द्रित छ ।
पुष्पमाला एनको ‘अभेगा- द प्यासन २०१२’ ले रामायणका महिला पात्रहरूको परम्परागत चित्रणलाई चुनौती दिएको छ। तैयबा बेगम लिपीले विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिको चित्रण गरेका छन् । उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाको संघर्ष प्रस्तुत गरेकी छन् । प्रदर्शनी अवलोकनका लागि विद्यार्थीका लागि दुई सय तोकिएको छ भने अन्य अवलोकनकर्ताले तीन सय तिर्नुपर्ने छ ।









