खबर दिनभर : रवि लामिछानेलाई आइतबार अदालत हाजिर हुनेगरी छाडियो,सुरुङ मार्गको ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीले गरे सिद्धबाबा सुरूङ मार्गको मुख्य सुरूङको ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरूङ मार्गको मुख्य सुरूङको शुक्रवार ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरूङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना सरकारले अघि सारेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शुक्रवार उनले सिद्धबाबा सुरूङ मार्गको ‘ब्रेक–थ्रु’ पछि सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको बताए ।

“केही समयअघि बुटवल जाँदा एक जना कलाकारले कहिले बन्छ सिद्धबाबा सुरूङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ । यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौँ नागरिकको ज्यान गएर पीडा भोग्नुपरेको थियो”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,“आज सिद्धबाबा सुरूङ मार्गको ब्रेक–थ्रु भएको छ । यो सुरूङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जाने अनुकूलता मिल्ने छ । यो सडक कालिगण्डकी करिडोरसँग जोडिन्छ ।”

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे । पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन उनले आग्रह गरे ।

केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

शुक्रबार बढ्यो सुनको मूल्य

नेपाली बजारमा साताको छैटौं दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सत्तामा रहँदा गल्ती गरेका छैनौँ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सत्तामा रहँदा गल्ती नगरेको बताएका छन् ।

पार्टीको तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई आज सम्बोधन गर्दै उहाँले नबिराउनु, नडराउनु भन्ने उखानजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको स्पष्ट पारे ।

आफू प्रधानमन्त्री हुँदा नै अनुसन्धान गर्ने सबै संयन्त्रलाई यदि आफूमा पनि केही गल्ती भेटिए अनुसन्धान गर्नुस्, भनेको बताए । “मैले प्रधानमन्त्री हुँदा नै प्रचण्ड दोषी देखिन्छ भने पनि नछाड्नुस्, भनेको थिएँ”, उनले भने,“प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस्, भनेर प्रहरीलाई निर्देशन गर्ने पहिलो प्रधानमन्त्री हुँ ।”

उनले लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको कुनै पनि देशमा नदेखेको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले २०६४ मा जस्तै मत आगामी निर्वाचनमा प्राप्त भएमा माओवादी पहिलो पार्टी बन्ने बताए ।

उनले भने,“२०६४ यता हाम्रा पनि केही गल्ती भए, ती गल्ती हामी सच्याउँछौँ, अब हामीले २०६४ सालमा जस्तै मत पाए भ्रष्टाचार र सामाजिक विभेद अन्त्य गरी मुलुकलाई आर्थिक विकासतर्फ लैजाने छौँ, यसमा तपाईँले विचार गरिदिनुपर्छ ।”

रवि लामिछानेको शुक्रवारको थुनछेक बहस सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रवारको थुनछेक बहस सकिएको छ ।

रुपन्देही जिल्ला अदालतमा शुक्रवार लामिछाने विरुद्धको थुनछेक बहस न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा सकिएको हो । श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ ।

अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

२ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

झाँक्री प्रकाश भुजेल धरौटीमा छुटेका छन् । झाँक्री प्रकश भुजेल दुई लाख धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता पूर्णिमा कुमारी चन्दले मकालुखबरलाई बताइन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको इजलासले २ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

गत कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।

झाँक्रीले चलाएको बा।१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री भुजेललाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति समेत भएको थियो । यद्यपि, अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उनलाई पुर्पक्षमा जेल चलान गर्न अदालतले दिएको आदेश विरुद्ध उनका परिवारले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

वन्यजन्तुले खाएको अवस्थामा पाटेबाघ मृत भेटियो

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।

शुक्रवार बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ ।

‘बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा गस्ती टोलीले फेला पारेको हो,’ सूचना अधिकारी पँगेनीले भने ‘बाघ भर्खरै नभई दुई तीनअघि नै मरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको बताए । मृत फेला परेको पाटेबाघको फरेन्सिक जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली बाँके राष्ट्रिय निकुञ्ज आउँदै गरेको उनले बताए । निकुञ्ज प्रमुख कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको बताए ।

भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जल गाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते एक जनाको गोदावरी अस्पताल, जल गाउँमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।

मलेसियामाथि नेपालको सानदार जित

आइसिसी यु १९ महिला विश्व कपमा नेपालले मलेसियालाई पराजित गरेको छ । विश्व कपमा नेपालको यो शान्तवना जित हो । जितका लागि ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २३ रन बनाइन् । ज्योत्सिका मरासिनीले ७ रन बनाइन् । सावित्री धामीले ३ रन बनाइन् भने साना प्रवीणले १ रनको योगदान दिइन् ।

सिमाना केसी ४ रनमा नटआउट रहिन् । मलेसियाका लागि मास्र्याले ३ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६।५ ओभरमा अल आउट हुँदै ४५ रन मात्रै जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोडिन् ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । हुस्ना र नुर दानिया सुहादाले समान ५–५ रन बनाइन् । नुनी र नूर इज्जातुल स्याफिकाले समान ४–४ रनको योगदान दिइन् । ऐन र ब्याट्रिसियाले समान १–१ रन बनाइन् । मलेसियाका ४ ब्याटरले खाता समेत खोल्न सकेनन् ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४ विकेट लिइन् । रचना चौधरीले ३ विकेट लिइन् । रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट हात पारिन् ।

सुदूरपश्चिमले बागमतीलाई हरायो,फाइनलमा एपिएफसंग भिड्ने

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब भिड्ने भएका छन् । शुक्रवार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको जितमा रितु कनौजियाले अलराउन्ड प्रदर्शन गरिन् । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनायो । जसमा रितुले अविजित ३४ र मनिषा बोहराले १६ रन जोडिन् ।

सुदूरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र सोनु खड्काले तीन–तीन र विपिशा शाहीले एक विकेट हात पारिन् ।

जितका लागि पाएको एक सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९।४ ओभरमा ८२ रनमा अलआउट भयो । बागमतीका यशोदा विष्टले ३० र हिलिसा गुरुङले २३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले दुई–दुई र रितु कनौजिया र आशिका महराले एक–एक विकेट हात पारिन् । रितु प्लेयर अफ द म्याच चुनिइन् ।

आजको हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा पुगेको सुदूरपश्चिमले एपिएफसँग फाइनलमा भिड्ने छ । यसअघि आजै भएको अर्को सुपर फोरको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको छ । उपाधि भिडन्त शनिबार बिहान १० बजे हुनेछ ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५–२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

दक्षिणी अमेरिकामा जाडो आँधी, ९ जनाको मृत्यु

दक्षिणी अमेरिकामा एउटा दुर्लभ जाडो आँधी आएको छ । जसले खाडी तटका क्षेत्रहरूमा हिउँ र कडा चिसो मौसम ल्याएको छ ।

आँधीले कम्तिमा नौ जनाको ज्यान लिएको छ । तटीय राज्य लुइसियानाको सबैभन्दा बढी जनसंख्या भएको शहर न्यु अर्लिन्समा १ हजार ९४८ पछिको सबैभन्दा ठूलो हिमपात भएको छ ।

आँधीले ३० अन्तरराज्यीय राजमार्गहरू बन्द गर्न बाध्य पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *