२ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

काठमाडौं । झाँक्री प्रकाश भुजेल धरौटीमा छुटेका छन् । झाँक्री प्रकश भुजेल दुई लाख धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता पूर्णिमा कुमारी चन्दले मकालुखबरलाई बताइन् ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको इजलासले २ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
गत कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।
झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री भुजेललाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति समेत भएको थियो । यद्यपि, अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उनलाई पुर्पक्षमा जेल चलान गर्न अदालतले दिएको आदेश विरुद्ध उनका परिवारले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।








