खबर दिनभर : भोलि फेरी अदालत उपस्थित हुँदै रवि,नेपाली महिला टोली विश्वकपबाट बाहिरियो

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताएका छन् ।
पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा बुधवार केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयक संवाद गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कुनै पनि देशबाट ऋण लिँदा देशलाई नकारात्मक भारमा नपर्नेगरी लिनुपर्नेमा जोड दिएका हुन् ।
“हाम्रो देश–भारत र चीनको बीचमा छ, त्यसको असर पनि हामीलाई पर्दछ”, सभापति देउवाले भने । उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको बताए ।
उपसभापति धनराज गुरुङले दातृ निकायबाट ऋण लिने र कार्यान्वयन नहुने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिए । महामन्त्री गगनकुमार थापाले देशको आर्थिक नीतिका विषयमा पार्टीभित्रको छलफललाई बृहत् बनाउँदै नीतिगत व्यवस्थाका लागि सबै राजनीतिक दलहरु र संसद्मा बहस चलाइने बताए ।
“अर्थनीतिका बारेमा तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्छ, राजनीतिक उत्तेजनाका आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा निर्णय हुने व्यवस्था हामीले तय गर्नुपर्छ”, महामन्त्री थापाले भने ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिका सन्दर्भमा देशको रणनीति महत्त्वपूर्ण रहने उल्लेख गरे ।
विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले वैदेशिक सहयोगको अवस्था विश्लेषण गर्दै हाल नेपालमा वैदेशिक ऋण रु एक हजार दुई सय ५३ अर्ब हाराहारीमा रहेको जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अर्थविद् डाक्टर डिल्लीराज खनाल, पूर्वअर्थसचिव रामेश्वर खनाल, त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापक सञ्जय दाहाल, अर्थविद् डाक्टर सेमन्त दाहाल र डाक्टर इन्द्रकुमारी अधिकारीले देशको वैदेशिक अर्थराजनीतिमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए ।
रवि लामिछानेलाई भोलि अदालत उपस्थित हुनेगरी परिवारको जिम्मा
रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि ९बिहीबार० उपस्थित हुने गरी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको छ ।
भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी लामिछानेलाई श्रीमती निकिता र कानून व्यवसायीको जिम्मा लगाउन न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको अदालतका सुचना अधिकारी अनन्तराज मरासिनीले बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएपछि अदालतले यस्तो आदेश दिएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित भएका थिए ।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगेका थिए । सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो । पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।
यसअघि लामिछानेले कास्की पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।
त्यसपछि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालतमा समेत हाजिर भएका थिए । काठमाडौंको मुद्दामा पनि उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।
सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताएका छन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।
“दङ्गा तथा गम्भीर अशान्ति नियन्त्रण होस् वा दैवी प्रकोप र महामारीबाट प्रभावित जनताको उद्धारमा सशस्त्र बलले आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गरेको छ”, गृहमन्त्रीले भने,“कठिन परिस्थितिमा पनि देश र जनताको सेवामा निरन्तर खटिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने यहाँहरूको भूमिका मुलुकको शान्ति र स्थिरताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ ।”
गृहमन्त्रीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।
सीमा तथा सीमास्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसारलगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गरे । सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोष्ट स्थापनाको प्रयास भइरहेको उनको भनाइ छ ।
सरकार सशस्त्र प्रहरी बलको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्ति व्यवस्थापन र सुविधाको विस्तारमा सधैँ प्रतिबद्ध रहेको जनाउँदै गृहमन्त्री लेखकले आगामी दिनमा सशस्त्र प्रहरीलाई अझ थप प्रभावकारी सङ्गठनको रूपमा विकास गर्न आवश्यक सबै पक्षलाई बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताए ।
इमान्दारिता पूर्वक कर्तव्य निर्वाह गर्ने सन्दर्भमा आइपर्ने कुनैपनि समस्यामा सकल दर्जाको पेसागत सुरक्षाका लागि नेपाल सरकार र गृह मन्त्रालय अभिभावकत्व प्रदान गर्ने विश्वास दिलाउँदै उनले सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई केही दिनभित्रै संसद्मा दर्ता गरिने बताए ।
सम्पुर्ण अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको जानकारी दिँदै उनले लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिएको बताए ।
मुलुकको अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न दशगजाको सरसफाइ, अवैध संरचना र खेती हटाउने कार्यलाई समकक्षीसँग समन्वय गरेर अघि बढाइएको बताए । उनले सीमा इलाकामा हुने अवैध चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
सबै सुरक्षा निकायसँग निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशलाई कुशलतापूर्वक वहन गर्दै सरकारको निर्देशनलाई पालना गरेर सकलदर्जा परिचालित हुँदै आएको स्पष्ट पारे ।
समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ र उत्कृष्ट कार्यसम्पादन गर्ने नम्बर ३ गढीमाई बाहिनीका प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे । त्यसअवसरमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलले प्रकाशन गरेको ‘एपिएफ वर्ष पुस्तक’ लोकार्पण गरेका थिए ।
सो क्रममा सशस्त्र प्रहरीका खेलाडीले जुडो, उसु र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । त्यसअवसरमा भूकम्प, केबलकारमा अड्किएका यात्रुको उद्धार र शान्ति मिसनमा खटिँदा अपहरणमा परेका प्रहरी प्रमुखको सकुसल रिहाइ गरेको नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।
सशस्त्र प्रहरीले २४ वर्षको अवधिमा सीमासुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।
सशस्त्र प्रहरीले ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ नारासहित यसवर्ष लागुऔषध विरूद्धको वर्ष मनाउने निर्णय गरेको छ ।
चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा रू एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा चालु आवको छ महिनामा रू एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व सङ्कलनमा योगदान गरेको छ ।
सरकार कुनै पनि बहानामा ढल्दैन : अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन् ।
नेकपा (एमाले) कास्कीद्वारा बुधवार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए ।
मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उनले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पारे ।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उनले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गर्नुभयो । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताए ।
एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए । उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवाह फैलाउने विरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न आग्रह गरे ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताए ।
जनताको घरदैलोमा पार्टी पुर्याउने लक्ष्यका साथ तीनमहिने वडा केन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउँदै उहाँले यसका लागि सम्पूर्ण कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।
एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले वर्तमान सरकार गठन भएदेखि नै आर्थिक सूचकहरू सन्तोषजनक देखिएको बताउँदै समृद्धिका लागि युवालक्षित कार्यक्रमलाई महत्त्व दिनुपर्ने धारणा राखे ।
एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दर्शन लामाले आन्तरिक पार्टी निर्देशनलाई पूर्ण रूपमा पालनासहित कार्यान्वयमा गर्दै आएको स्पष्ट पारेका थिए ।
वर्तमान गठबन्धन सरकार परिवर्तन हुने कारण छैन : डा.कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।
बुधवार विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे ।
नेता कोइरालाले भने, “छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।” संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए।
नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताए । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।
नागरिकलाई सहज सेवा प्रदान गर्न अध्यादेश : एमाले
नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको जनाएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधवार एमालेको संसदीय दलले विज्ञहरु समेतलाई बोलाएर अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकताबारे आफ्ना पार्टीका सांसदहरुलाई जानकारी गराएको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले केही नेपाल ऐनहरुलाई संशोधन गरेर अध्यादेश जारी गरी नागरिकको सहज सेवा प्रदान गर्न, लगानीको वातावरण राम्रो बनाउन, सहकारीको समस्या समाधान गर्न नेपालको संविधानको सीमाभित्र रहेर अध्यादेश ल्याइएको सांसदहरुलाई जानकारी गराए ।
डीएसपी चन्दलाई काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक ९डीएसपी० पूर्णिमा कुमारी चन्दले पाएकी छन् ।
परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताए ।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएपनि उनको ठाउँमा चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रहरी वृत्त स्वयम्भूमा कार्यरत चन्द केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन् ।
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री
गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन् ।
मङ्गलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त राहत सामग्री लहान नगरपालिकाले वितरण गरेको हो । अविरल वर्षाका कारण बलान नदीे किनारामा रहेका उक्त बस्तीमा बाढी पसेर स्थानीयको बिचल्ली भएको थियो । तत्कालीन समयमा नगरले बाढीपीडितलाई अस्थायी रूपमा खान र बस्नको व्यवस्था गरेको थियो ।
यसअघि पीडितहरूको समस्या बुझ्न मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलगायत सरकारी निकाय र मानव अधिकारवादी सङ्घसंस्थाले बाढीग्रस्त क्षेत्रमा अवलोकनसमेत गरेका थिए ।
पीडित परिवारलाई लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डित, मानव अधिकारकर्मी राजकुमार राउत, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डित र नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैताको उपस्थितिमा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राहत वितरण गरे ।
सो अवसरमा लहान नगरप्रमुख चौधरीले भने,“तत्कालीन समयमा नगरले सकेको राहत सामग्री वितरण गरेको थियौँ । अहिले सङ्घीय सरकारबाट राहत आएलगत्तै वितरण गरेका छौँ । बाढीको समयमा पाएको पीडा शीतलहरमा पीडितलाई राहत मिलेको छ ।”
राहत सामाग्रीम खाना पकाउने ग्याससहित सिलिण्डर, चुलो, भाँडाकुँडा, सिरक डस्ना, तकियालगायत रहेको छ । राहत पाएका इस्लामपुर र सुन्दरपुरका स्थानीय खुसी हुँदै बलान नदी कटानबाट बस्ती जोगाइ दिनका लागि ठोस पहल गरिदिन ध्यान आकर्षण गराएका छन् ।
बलान नदीले लहान नगरपालिकाभित्रका वडाहरू ३, ४, ५, ९, १०, १७, १८, १९ र २३ तथा सखुवानानकट्टी र भगवानपुर गाउँपालिकाका विभिन्न बस्तीमा बर्सेनि क्षति पुर्याउने गरेको छ । यसको ठोस समाधानका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने मानवअधिकारकर्मी राजकुमार राउतको भनाइ छ ।
यता मधेस प्रदेश सरकारलाई बलान नदी कटान क्षेत्रको समस्या समाधान गर्नका लागि मधेस प्रदेशसभामा आवाज उठाएपछि लहान–२३ मा गत वर्ष एक करोड ४० लाखको तटबन्ध निर्माण कार्य भएको प्रदेशसभा सदस्य राजकुमार गुप्ताले बताए ।
सिरहा–१ का सङ्घीय सांसद रामशङ्कर यादवका अनुसार बलान नदी कटान नियणत्रणका लागि यस वर्ष सङ्घीय सरकारबाट रु तीन करोड बजेट निकासा भएको छ ।
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
काठमाडौं प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुव्र्यवहार गर्ने चितवनको नारायणी नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।
महिलाको उजुरीपश्चात् खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ बाट पक्राउ परेका युवकलाई बुधवार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा निजले यसअघि पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न मानिससँग अग्रिम रकम लिइ सम्पर्कविहीन हुने गरेको समेत खुल्न आएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिइन् ।
५२ अङ्कले बढ्यो नेप्से परिसूचक, ९ अर्ब २० करोड बढीको कारोबार
आज (बुधवार) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
तीन सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा रु ९ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ को कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै अन्य समूह चार दशमलव २४ र लगानी समूह तीन दशमलव ८२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ३२, विकास बैंक दुई दशमलव ७४, वित्त शून्य दशमलव ८९, होटल तथा पर्यटन दुई दशमलव ७१ र जलविद्युत् समूह दुई दशमलव ७१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा समूह एक दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य आठ, लघुवित्त एक दशमलव शून्य सात, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बिमा एक र व्यापार समूह दुई दशमलव ४५ प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ६१ करोड ३६ लाख ४८ हजार दुई सय २० बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख ५६ हजार नौ सय दुई कित्ता शेयर खरिदबिक्री भएको छ ।
१९ सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा साताको चौथो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
परेवाडाँडा स्वास्थ्य चौकी पोषणमैत्री घोषणा
यहाँको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई बुधवार पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ । यसअघि वडा नम्बर ८ स्थित भोटेओडार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।
सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले पोषणमैत्री वडा घोषणा गर्न पहिले स्वास्थ्य संस्था पोषणमैत्री हुनुपर्ने बताए ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा सरकारले तोकेका विभिन्न सूचक पूरा गर्न वडाबाट सकारात्मक सहयोगका साथै स्वास्थ्यकर्मीले अथक परिश्रम गरेको परेवाडाँडा स्वास्थ्य चौकीका प्रमुख रामेश्वर सेढाइँले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ समेत जारी गरेको छ । ‘पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८’ ले २०८७ सालसम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य निर्धारण गरेको छ ।
पोषणमैत्री स्वास्थ्य संस्था हुनका लागि दश वटा मापदण्ड तोकिएका छन् । ती मापदण्ड पूरा गरेपछि मात्रै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाइने निर्देशिकामा उल्लेख छ ।
रास्वपाले गर्यो नेपाली खो-खो टोलीलाई सम्मान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ । भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।
रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिए । उनका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि पार्टी सधैँ प्रतिबद्ध रहने बताए ।
कार्यक्रममा उपसभापति डा स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।
उनीहरुले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिए ।
अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो
नेपाल आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले १० रन पनि कटाउन सकेनन् । अलिशाकुमारी यादवले ९ रन बनाउँदा साना प्रवीणले ८ रन बनाइन् ।
सावित्री धामीले ७ रनको योगदान दिइन् भने सिमाना केसीले ६ रन बनाइन् । तृषना विक र रिया शर्माले १–१ रन मात्रै बनाउन सकिनन् ।
ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ र रचना चौधरी शून्य रनमा आउट भइन् ।
अष्ट्रेलियाका लागि हसरत गिल, जुलिएट मोर्टन र लिलीले समान २–२ विकेट लिइन् भने क्लो आइन्सवर्थले १ विकेट हात पारिन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो । अस्ट्रेलियाका लागि कोइम्हे ब्रेले सर्वाधिक ४५ रन बनाइन् ।
एलेनोर लारोसाले ३१ रन बनाइन् भने हसरत गिलले ३० रनको योगदान दिइन् । क्लो आइन्सवर्थले १६ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।








