नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ,कारण यस्तो

काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का धिरेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जनता समाजवादी नेपालबाट निर्वाचित वडाध्यक्ष साहलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । आज पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जवरजस्ती करणी,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान कसुरको उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए ।
प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादीविरुद्ध २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे उजुरी परेको छ ।
साह सहितका व्यक्तिविरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसयता साह फरार भएका थिए ।
वि.सं.२०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । साथै गत साउन १४ गते पनि इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको र गत साउन १५ गते साहसहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आकलन गर्दै साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । वि.सं. २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका प्रितमलाल चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।









