कृषिमा क्रान्ति आवश्यक : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक उथलपुथल र परिवर्तन धेरै भएपनि कृषिमा क्रान्ति गर्न नसकिएको भन्दै सरकारले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले कृषि विकासमा कमजोर महशुस गरिरहेको बताए । किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको बताउँदै कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु गर्न बाँकी रहेको उल्लेख गरे । मन्त्री अधिकारीले कृषि उत्पादनलाई उद्योगसँग जोड्न थप प्रयास गर्ने प्रतिवद्धता जनाए ।
उनले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न र अनुकुलित कृषि खोतीका लागि नविनतम प्रविधिको विकास गर्न आवश्यक रहेको बताए ।
कृषि क्षेत्रमा रहेको लगानीको अपर्याप्ततालाई पूरा गर्न कृषि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई समेत प्रोत्साहन गर्नेगरी व्यवसायीकरण र औद्योगिकरणको आधारशिलाको रुपमा तयार गर्न कृषिमा लगानी दशक घोषणा गरेको उनले बताए ।
‘तपाईं हामीले देखेको र भोगेको धेरै राजनीतिक उथलपुथल र परिवर्तन भयो । अझै हामीले कृषिमा क्रान्ति गर्न सकेका छैनौँ । ठूलो परिवर्तन हामीले ल्याउन सकेका छैनौँ । कृषि विकासमा हामी कमजोर महशुस गरिरहेका छौँ । किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन सकेका छैनन् । उन्नत प्रविधि किसानको खेतबारीमा पुर्याउन सकिएको छैन । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन हामीले सकिरहेका छैनौँ । कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु हामीले गर्न बाँकी छ,’मन्त्री अधिकारीले भने ।
तल्लो तहको किसानसँग कसरी पुग्ने भन्नेबारेमा आफूहरु गम्भीर रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि खाद्य प्रणालीको रुपान्तरण गर्न यथेष्ठ काम गर्नुपर्ने आवश्यकता औंल्याए ।








