डेडिकेटेड तथा ट्रंकलाइन विवाद

व्यवसायीहरूसँगै पैसा असुल गर्ने नै हो, त्यसमा दुई मत छैन : ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् ।

मङ्गलवार नेपाल प्रेस युनियन सङ्खुवासभाको खाँदवारिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले डेडिकेटेड तथा ट्रंकलाइन विवादका विषयमा संसदको लेखा समितिमा छलफल भएकाले केही ढिला भएपनि चाँडै टुङ्गो लाग्ने बताए । मन्त्री खड्काले व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा जसरी पनि सरकार असुल गर्ने पक्षमा रहेको उल्लेख गरे ।

उनले भने ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद समाधानको लागि लेखा समितिमा पुगेको हुनाले अलि दिन ढिला भएको हो । व्यवसायीहरूसँगै पैसा असुल गर्ने नै हो । त्यसमा कुनै दुई मत छैन । व्यवसायीहरूले प्रयोग गरेको विद्युत्को यकिन गर्ने जिम्मा प्राधिकरण हो । त्यहाँबाट भएन भने नियमन आयोग छ । समाधान त्यहाँबाट हुन्छ ।’

उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिको समस्या भएकाले समस्या समाधान गर्न धेरै जटिलताहरू रहेको बताए । उनले सरकार परिवर्तन हुने बित्तिकै उद्योगहरूमा लाइन काटिएको अनुभूतिका साथ उद्योगहरूमा लाइन काट्नु जायज नभएकाले जोड्न सरकारले निर्देशन दिएको बताए । उनले एक्कासि उद्योगहरूमा लाइन काट्दा रोजगारी, मजदुर र उत्पादनमा समस्या हुने भएकाले सरकारले त्यो विषयमा खाल राख्न जरुरी रहेको बताए ।

उनले विद्युत् प्राधिकरण र मन्त्रालयबीचको सम्बन्धका विषयमा नराम्रो भाष्य बनाउन हुने भन्दै प्राधिकरण मन्त्रालयको सानो निकाय भएको बताए । उनले व्यवसायीहरूले प्रयोग गरेको विद्युत्को यकिन गर्ने जिम्मा प्राधिकरणको भएको भन्दै त्यहाँबाट समाधान नभए नियमन आयोगले यकिन गर्ने बताए । मन्त्री खड्काले वर्तमान सरकार बनेसँगै उद्योगको लाइन जोड्नुपर्छ भनेर प्रधानमन्त्रीलाई आफैँले भनेको भन्दै प्रधानमन्त्री माथि गरिएको प्रश्न गलत हुने बताए ।

मन्त्री खड्काले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । उनले गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि पहल गर्ने बताए । उनले संखुवासभामा प्रत्येक घरले पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =