सहअस्तित्वको सन्देश प्रवाह गर्दै मनाइयो तीज

नेपाली नारीहरुको महान् हरितालिका तीज देशभर धुमधामका साथ मनाइएको छ ।पशुपति नाथ मन्दिर परिसर संगै देशभरका विभिन्न मन्दिरहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको थियो । शुक्रबार बिहानैदेखि खोटाङ दिक्तेल बजारको मौसम सफा थियो । बिहानैदेखि हुलका हुल हिन्दू नारीहरू हातमा थालीसहित दिक्तेल बजार प्रवेश गर्न थाले । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार भएर धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित बुद्धेश्वर गुफा आवतजावत गर्ने गरिन्छ ।

बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । तीजको अवसर पारेर बुद्धेश्वर गुफामा पूजाआजा गर्ने नारीहरू बिहानैदेखि लामबद्ध भएका थिए ।

एकाबिहानै पूजाआजा गर्न मझुवागढीस्थित बुद्धेश्वर गुफा पुगेका हिन्दू नारीहरू विस्तारै दिक्तेल बजार फर्किए । हुल बाँधेर पूजाआजा गर्न बुद्धेश्वर गुफा पुगेका उनीहरूले दिक्तेल बजार फर्किए लगत्तै चोकचोकमा आयोजित तीज विशेष कार्यक्रममा नाचगान गर्दै दिनभर रमझम गरे ।

दिक्तेल बजारको हाटडाँडा, त्रिवेणीचोक, भवनगैरा, हेलिप्याड, पुरानो बेस क्याम्प, रत्नपार्क लगायतका ठाउँमा तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न समूहमा आबद्ध नारीहरूले आयोजना गरेका तीज विशेष कार्यक्रममा अन्य समुदायका नारीहरूको उल्लेख्य सहभागिता थियो ।

नारीहरूका महान् चाड तीजको अवसरमा आज आयोजित विशेष कार्यक्रममा सहभागी भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी अम्बिका राईले नेपालका सबै जातजातिको धर्म, संस्कार तथा संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।

“हामी सबै जातजातिको आ–आफ्नै पहिचान छ । आफ्नो पहिचान तथा संस्काररसंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्दै अरुको धर्म, संस्कार तथा संस्कृतिलाई पनि सम्मान गर्न सक्नुपर्छ”, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्यसमेत रहेकी उनले भनिन्,“म प्रकृति पूजक किरात समुदायकी नारी हुँ । म सबै जातजातिको धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी छु । यसले सहअस्तित्व कायम गर्न मद्दत गर्छ भन्ने मेरो बुझाइ हो ।”

दिक्तेल बजारमा आयोजित तीज विशेष सबै कार्यक्रममा ठूला ‘साउण्ड सिस्टम’बाट तीज गीतहरू बजाइएका थिए । तीजमा गाइने मौलिक गीत तथा सङ्गिनी नाचहरू हराउँदै गएकाप्रति कार्यक्रममा सहभागी अग्रज हिन्दू नारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

विगतका वर्षहरूमा भन्दा यस वर्षको तीजमा दिक्तेल बजार आउने हिन्दू नारीहरूको सङ्ख्या वृद्धि भएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।

“दिनभर हरेक चोकमा तीज विशेष कार्यक्रम थियो । धेरै ठाउँबाट पत्रकार महासङ्घलाई निम्तो पनि आएको थियो । सकेसम्म सबै ठाउँ पुग्ने प्रयास गरियो”, उहाँले भन्नुभयो, “विगतका वर्षमा भन्दा यस वर्षको तीजमा दिक्तेल बजार आउने हिन्दू नारीहरुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि देखियो । यसले आफ्नो संस्कार÷संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ भन्ने चेतना सबैमा विकास भएको पाइयो ।”

तीजको अवसर पारेर शुक्रबार दिक्तेल बजारस्थित बुद्धेश्वर गुफासँगै विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, गुप्तेश्वर महादेव गुफा, जुडी महादेव गुफा लगायतका ठाउँमा मेला लागेको थियो । धार्मिकस्थलमा पूजाआजा गरेपछि जिल्लाका विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम गरिएको थियो ।

देशमा सङ्घीयता लागू भएसँगै जिल्लास्थित १० वटै स्थानीय तहहरूले तीज विशेष कार्यक्रमका लागि बजेटसमेत उपलब्ध गराउँदै आएका छन् । तीजको अवसरमा स्थानीय तहमा रहेको महिला तथा बालबालिका शाखाको संयोजनमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको सङ्गिनी नाच प्रतियोगितामा महिला अधिकार मञ्च जालपा प्रथम भएको छ । हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको वडास्तरीय प्रतियोगितामा वडा नम्बर १२ जालपा प्रथम भयो ।

प्रतियोगितामा वडा नम्बर १ दिक्तेलस्थित गुप्तेश्वर आमा समूह दोस्रो, वडा नम्बर ५ लफ्यास्थित सङ्गिनी समूह तेस्रो र वडा नम्बर १ फूलबारी आमा समूह सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः नगद रु छ हजार, रु पाँच हजार, रु चार हजार र रु तीन हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिए ।

प्रतियोगिताका विजयी समूहलाई नगर उपप्रमुख विशन राई र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

प्रतियोगिताममा सहभागी अन्य समूहलाई यातायात खर्च उपलब्ध गराइएको आयोजकले जनाएको छ । बढ्दो आधुनिकीकरणका कारण मौलिक परम्पताअनुसार नाचिने सङ्गिनी नाच लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको शाखा प्रमुख राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =