नियम पालना नहुँदा सौर्यको जहाज दुर्घटना भयो : जाँचबुझ आयोग

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले जहाज दुर्घटनाबारे अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
जहाज सञ्चालनको नियम पालना नभएको कारण जहाज दुर्घटना भएको आयोगले जनाएको छ । आयोगले सौर्य एयरलाइन्सले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको जनाएको छ ।
जहाजले कार्गोसहित लोड बोकेर जहाज उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन नगरेको कारण दुर्घटना भएको आयोगले जनाएको छ ।
आयोगले जहाजको लोड कति हुनुपर्ने, लोडिङ र सुरक्षा आवश्यकता रहेको उल्लेख गरेको छ । सौर्यले जहाज उडान पूर्व लोडमा ध्यान नदिइएको उल्लेख छ । जहाजको लोड अनुसार कति गतिमा उडान हुनुपर्छ भन्ने मापदण्ड पालना नगरेको आयोगको प्रतिवेदनमा लेखिएको छ ।
आयोगले सबै वायुसेवा कम्पनीलाई कार्गो उडान सम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ ।
साउन ९ गते सौर्यको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु थियो । क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो ।








