कांग्रेस र कम्युनिष्ट शासनले भ्रष्टाचारलाई बढवा दियो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको उनको तर्क छ ।

अध्यक्ष यादवले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरू बाहिर गइरहेका छन्, कामको खोजीमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजीमा बाहिरिएका छन् । गाउँमा युवाहरू भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरू नै हुन् । सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरू नै हुन् । नेपाली काँग्रेस र कम्युनिस्टहरू नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो ।’

उनले काँग्रेस र कम्युनिस्टका धेरै नेताहरू भ्रष्टाचारमा जोडिएको आरोप लगाए । काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टाचारलाई बढवा दिएको बताए ।  भ्रष्टाचार नै कांग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको उनको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =