यो वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माणको वर्ष हुनेछ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाउने बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) सँग बिहीबार कुराकानी गर्दै मन्त्री गुरुङले यो वर्षलाई ऐन संशोधन र कानुन निर्माणको वर्षका रुपमा गृहकार्य थालेको जानकारी दिए ।
“यो वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माण गर्ने वर्ष हुनेछ”, उनले भने, “पुराना ऐनले चलेका सञ्चार नीतिहरू संशोधनमा लगेका छौँ । आवश्यकता परेको खण्डमा नयाँ नीतिहरू पनि बनाउँछौँ ।”
मन्त्री गुरुङका अनुसार बन्दै गरेका कतिपय विधेयक अन्तिम चरणमा पुगेका छन् । सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ अन्तिम राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको मन्त्री गुरुङले जानकारी दिए ।
सामाजिक सञ्जाललाई मर्यादित, व्यवस्थित, स्वायक्त र स्वतन्त्र बनाउने उद्देश्य राखी बन्दै गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक पनि बन्ने क्रममा रहेको उनले बताए ।
लामो समयदेखि रोकिएको आमसञ्चार नीति छिट्टै टुङ्गोमा पुग्ने जानकारी दिँदै मन्त्री गुरुङले आम चासो रहेको मिडिया विधेयक पास गर्न भने आफूले हतार नगर्ने स्पष्ट पारे ।
सञ्चारसँग सम्बन्धी विधेयक संवेदनशील भएकाले यसमा सरोकारवालाको साझा मनोभाव समेटेर मात्रै टुङ्गोमा पुर्याउने उनले जानकारी दिए । अर्थ मन्त्रालयको सुझावअनुसार दूरसञ्चार विधेयक र सूचना प्रविधि (साइबर क्राइम) विधेयक एउटैमा गाभिएको हुँदा तुलनात्मक रुपमा बृहत् बनेको उनले बताए । यो वर्ष हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाइने उनले बताए ।








