प्रचण्डलाई सांसद बाँस्कोटाको जवाफ- कोही पनि आउनेवाला छैन, भ्रममा नपर्नु, एक्लै लड्नु

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाउनेहरूप्रति छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताएका हुन् । उनले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताए ।
उनले लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले प्राधिकरणको नेतृत्वमा ७ वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरू पनि हेर्नुपर्ने बताए ।
उनले भने ‘लेखा समितिको निष्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखा परीक्षकले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा उठाउने जिम्मेवारी जसको छ, त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो । पैसा उठाउने जिम्मेवारी लिएकोले पनि उठाएको देखिँदैन ।’
सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताए । उनले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गरे ।
उनले भने ‘प्रचण्डजीले अर्को पनि भन्नुभयो, उहाँले धम्कीपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो । म कहाँ नआऊ है भनेर । कोही पनि आउनेवाला छैन । भ्रममा नपर्नु । एक्लै लड्नु । भनेकै त्यही हो ।’








