खाल्डोमा डुबेका किशोरको शव निकालियो
२०८१ भदौ ८ गते

फाइल तस्वीर ।
सर्लाही । ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव निकालिएको छ । शनिवार दिउँसो फुटबल खेल्न साथीसँगै आएका सोही नगरपालिका–४ सागरनाथका १७ वर्षीय निशान थापामगरको नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
नुहाउन भनेर फूलजोर खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा पसेका मगरको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरी नेपालको गोताखोर टोली बोलाइएको थियो । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।
गोताखोर टोलीले ३० मिटरभन्दा धेरै गहिरो खाल्डोबाट शव निकालेको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२०८१ भदौ ८ गते
प्रतिक्रिया








