सबै बामपन्थी एवं माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन् ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै बामपन्थी एवं समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिरहेको बताए । उनले यसको परिणाम छिट्टै आउने दाबी समेत गरे ।

अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गरे । उनले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

“हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ । केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु”, अध्यक्ष दाहालले भने ।

पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गरे । यसैगरी उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियासमेत अगाडि बढेको जानकारी दिँदै अध्यक्ष दाहालले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । नुवाकोटलाई पार्टीले सधैँ महत्व दिएको र आगामी दिनमा पनि उस्तै भूमिका दिने अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएका समयमा विभिन्न जनपक्षीय काम भएको उल्लेख गरेृ । उनले जनतालाई केन्द्रमा राखेर काम गरिएका कारण नै आफूहरूलाई सरकारबाट हटाइएको जिकिर समेत गरे ।

कार्यक्रममा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदी, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, राधिका तामाङ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =