प्रधानमन्त्री ओलीको आग्रह- सरकारप्रति आस गर्नुस्, भर पनि पर्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताए । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोड्ने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले भने ‘स्वदेश फर्कने नेपालीहरूका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ । म भन्न चाहन्छु–अहिलेको सरकारसँग आस पनि गर्नुस्, भर पनि पर्नुस् । यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु ।’
त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरूका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए ।








