डम्पिङ साइटमा भेटिएको शवको पहिचान खुल्यो

उदयपुर । कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा बुधवार बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।
उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले जानकारी दिए ।
दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको पहिचान गरेका हुन् ।“विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौँ हुँदै कटारी आइपुगेका छन्,” उपरीक्षक राईले भने, “कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।”
बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । बिहान फोहर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखिएको स्थानीय देव ढुङ्गेलले बताए । “गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए”, “फोहरमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन्,उनले भने ।”
मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।








