प्रतिनिधि सभा बैठक

संघीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतिमा मात्रै संविधान संशोधन गरिने बताएका छन् ।

सबै दलले कठिन सङ्घर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरुबीचकै सहमतिमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क थियो । बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उनले संविधानलाई सर्वस्वीकार्य बनाउने उद्देश्यका साथ संविधान संशोधन हुने स्पष्ट पारे ।

संविधानलाई सर्वस्वीकार्यता बनाउने प्रयास अन्तर्गत संविधान संशोधन गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले संघीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन गर्न नसकिने मान्यतामा आफूहरू अडिग रहेको दोहोर्याए । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूसहित जनस्तरमा, संविधानविद्हरूका बीचमा व्यापक छलफल गरेर मात्रै संविधान संशोधनको विषय अघि बढ्ने बताए ।

उनले भने ‘संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ हामीलाई जे मन लाग्यो, त्यही गर्छौं भन्ने होइन । संविधान चाहिएको देशका लागि हो । संविधान चाहिएको जनताका लागि हो । संविधान चाहिएको सुशासन र विकासका लागि हो । संविधान चाहिएको जनतामा कसरी सकारात्मक परिवर्तन अझ बढी ल्याउन सकिन्छ ? त्यसका लागि हो । त्यसकारण त्यस विपरीतको संविधान संशोधन कसरी हुनसक्छ ? हामी तयार छौँ र त्यसका लागि ? म त तयार छैन । देशका विरुद्ध, जनताका विरुद्ध, विकासका विरुद्ध, सुशासनका विरुद्ध समावेशिता मास्ने गरी, हामीले अहिले गरेका आधारभूत प्रस्तावनाहरू, संविधानका आधारभूत मूल्यमान्यताहरू, संघीयता लोकतान्त्रिक गणतन्त्र मास्नेगरी यहाँनिर लोकतन्त्र भन्ने शब्द छ । हो यो शब्द अत्यन्त महत्वपूर्ण छ । यसका अवयवहरू हुन्–संघीयता र गणतन्त्र । यथार्थमा लोकतन्त्रलाई लोकतन्त्र बनाउन यी कुराहरू आवश्यक छन् भनेर संविधानले व्यवस्था गरेको हो । त्यस कुरामा हामी अडिक छौँ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु । ’

प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने भएकाले त्यसमा विदेशी नक्कल गर्न नसकिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =