कृषिमन्त्री अधिकारीद्वारा कृषि औजार कारखानाको अवलोकन, आवश्यक सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलवार वीरगञ्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरूको अनुगमन एवं अध्ययनका लागि पुगेका उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताए । अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन सुरु गरेको पाएको बताए । उनले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

उनले भने ‘राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भहरू उठिरहेका थिए, यो आविष्कार केन्द्रले नयाँ के गरेको छ, त्यो अध्ययन गर्न आएका हौँ । हामीले कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५÷१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामानको अवलोकन गरेका छौँ । यहाँको अवस्था अध्ययन गरेका छौँ, मन्त्रालयमा छलफल गरेर अघि बढ्छौँ । मुलुक सञ्चालन गर्ने ठाउँमा हामी छौँ । मन्त्रालयको तवरबाट गर्नुपर्ने काममा व्यापक छलफल गरेर अघि बढ्नेछौँ ।’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमुना कृषि औजारहरू बनाउन परीक्षण गरेको बताए । उनले उत्पादन सुरु गर्न आफूहरू तयार रहे पनि विद्युत् प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफरर्मर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताए ।

उनले साना किसानलाई चाहिने र उपयोग हुने औजारहरू उत्पादन गर्ने पनि बताए । उनले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको र अब २० करोडको जिम्मा लिने बताए । बाँकी सहयोगमा सरकारले गर्न आवश्यक नीति नियम बनाउन आग्रह गरे ।

उनले भने ‘अहिले हामीले झन्डै २० किसिमका नमुना औजारहरू बनाएका छौँ । सबै परीक्षण भएर सफल भएका छन् । अब के के औजार बनाउने भनेर धेरै पटक नमुना परीक्षण गरेर सफल गरेका छौँ । अबको ६ महिनाभित्र उत्पादन नै सुरु गर्ने तयारीमा छौँ । ट्रान्सफरर्मर राख्न विद्युत् प्राधिकरणले ढिला गरेको छ । ५ सय केबीको लागि हामीले भनेका थियौँ । हामी वामे सर्दै गरेको अवस्था हो । अझै केही समय लाग्छ । साना किसानलाई चाहिने र उपयोग हुने कुरालाई लक्ष्य गरेर परीक्षण भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म २ करोड खर्च गरिसकेको छ । अब २० करोड जति जिम्मा लिन्छौँ । सरकारको तर्फबाट कसरी थप्ने, कति ल्याउने भन्ने किसिमको नीति निर्देशन दिन सहयोग के गर्ने त्यसमा सहयोग गर्न आग्रह गर्दछु ।’

सोही अवसरमा मन्त्री अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *