छवि बदल्दै प्रधानमन्त्री ओली

काठमाडौं । नेपालको राजनीतिमा पछिल्ला केही वर्षयता लोकप्रियतावाद हाबी हुँदै गएको छ । राजनीतिमा व्यवहारिक र सैद्धान्तिकभन्दा पनि सस्तो लोकप्रियताले ठाउँ पाउँदै आएको छ ।
विशेष गरी २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि लोकप्रियता र स्टण्टबाज नागरिकबाट अनुमोदन हुँदै गएको छ । मुलुकको राजनीतिमा सस्तो लोकप्रियता र स्टण्टबाजी हाबी हुँदै गइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने कांग्रेस-एमालेको समीकरणले स्टण्टबाजीका रूपमा कुनै काम नगर्ने घोषणा गरेका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिष्ट हुने वा स्टण्टबाजीका रूपमा कुनै काम नगर्ने स्पष्ट पारे । ‘कांगेस र एमालेको यो समीकरणले संविधान संशोधनजस्तो कुरा गर्दा यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन,’ उनले भने, ‘त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टण्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्योल र भ्रम पनि चाल्दैन । स्टण्टबाजी पनि गर्दैन, कसैलाई झुक्क्याउने खेल पनि खेल्दैन ।’
उनका पछिल्ला अभिव्यक्ति र कदमले छवि बदल्न खोजेको संकेत गर्छ । प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने क्रममा नै विगतमा भन्दा आफू बदलिएको प्रस्तुति दिन खोजेका थिए । यतिबेला प्रधानमन्त्रीका रूपमा दैनिक कार्यव्यवहारमा पनि विगतभन्दा बदलिएको व्यवहार ओलीले देखाए । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान सुधार गर्ने, प्याराफिट बनाउने र फ्लडलाइट जोड्ने काम तीन सय दिनमा गरिसक्ने महत्वकांक्षी निर्णय ओलीले गराएका थिए ।
सो काम सम्पन्न गर्न त्रिवि पदाधिकार र क्यान पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरिसक्नु भएका प्रधानमन्त्री ओलीले आफैँ अग्रसर भएर त्रिवि क्रिकेट मैदानलाई रंगशालाको रूपमा दिन चाहेका छन् । प्रधानमन्त्री भएलगत्तै मन्त्रीहरूलाई कार्ययोजना माग गर्नुभएका ओलीले मन्त्री र सचिवहरूसँग संयुक्त छलफल गरिसक्नु भएको छ भने मन्त्रालयगत कामका बारे आफैँले तदारुकता देखाए । आफ्नो सरकार बनाएसँगै सेयर बजारमा उछाल देखिएको दाबी प्रधानमन्त्री स्वयंले गरेका हुन् ।
सेयर बजारमा उत्साह भर्न प्रधानमन्त्रीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमै हस्तक्षेप गरे । दीर्घकालिक नभए पनि मौद्रिक नीतिको जगमा अहिले सेयर बजार र निजी क्षेत्र उत्साहित देखिएका छन् । राजदूत नियुक्तिको सैद्धान्तिक पाटोमा बहस भए पनि प्रस्तावित राजदूतहरूबारे व्यक्तिगत रूपमा सवाल नउठ्नुमा प्रधानमन्त्रीकै चासोले काम गरेको जानकारहरू बताउँछन् ।
विगतमा घण्टौँसम्म औपचारिक कार्यक्रम र वक्तव्यबाजीमा रमाउने आरोप चिर्दै प्रधानमन्त्रीले यसपटक आफूलाई चुस्त बनाउने प्रयास गरेका छन् । बालुवाटारमा पार्टी बैठक नराख्ने भन्दै ओलीले हालै एमाले बैठक बालुवाटारबाहिर नै सम्पन्न गरे ।
राजनीतिक पनि अघिल्ला कार्यकालमा भन्दा यसपटक प्रधानमन्त्री ‘सिरियस’ देखिएका तर्क गर्छन् । यसपटक दुई वर्षका लागि मात्रै प्रधानमन्त्री भएको स्वघोषणा गरिसकेकाले दुई वर्षभित्रै मानक कामहरू गर्ने र आफ्नो छवि बदल्ने प्रयत्न प्रधानमन्त्रीले गरेको उनीहरूको तर्क छ ।
विश्लेषक शंकर तिवारीले प्रधानमन्त्रीको सुरुआत ठिक भएको तर मूल्यांकन गर्न अझै केही समय कुर्नुपर्ने बताए । ‘प्रधानमन्त्री पहिलेभन्दा बदलिनुभएको छ । उहाँ संयमित देखिनुभएको छ । परिणाम दिनेगरी काम गर्न खोजेको देखिन्छ । प्रधानमन्त्रीका रूपमा उहाँको सुरुआत ठिक छ तर मूल्यांकन गर्न अझै केही समय कुर्नुपर्छ’, उनले भने ।








