अनुगमन

संसद भवन निर्माणमा ढिलाई भएकोमा उपप्रधानमन्त्री सिंहको असन्तुष्टि (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुगेका उनले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिए ।

उनले भने– ‘यो भवन अलि चाँडो निर्माण गर्नुपर्‍यो भन्ने कुरामा हाम्रो सल्लाह भए अनुसार नै साईट भिजिट गरेर कन्ट्रयाक्टरलाई पनि बोलाउने, उसको अवस्था के छ ? त्यो पनि बुझने । र, यो कन्ट्रयाक्ट हुँदाखेरी भएको सम्झौता अनुसार काम गर्नका लागि के गर्न सकिन्छ, काम गर्नका लागि स्पिड कसरी बढाउन सकिन्छ ? सबै सम्भावनाहरुलाई प्रयोग गरेर यसलाई पूरा गर्नेतर्फ हामीले जोड दिईरहेका छौं ।

पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकि रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको संख्या बढाएर कामलाई तिब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराए ।

समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका उपप्रधानमन्त्री सिंहले बताए ।

‘यत्रो ह्युज स्ट्रक्चर छ यो । काम चाँही गर्दैछ । तर, डबल सिफ्ट, त्रिपल सिफटमा गरेर भएपनि यसलाई अव सम्झौता गरेको पछिल्लो अवधि पनि नौं महिनामा समाप्त हुन्छ । नौ महिनामा यो बाँकि रहेका सबै कामहरु सकाउनका लागि त यसमा सिफ्टहरु त बढाउनु पर्‍यो नि त,’उनले भने,‘त्यसमा जोड दिन हामीहरुले घचघच्याईरहेका छौं । र हामो चाहना के हो त भन्दाखेरी टाईमली यो बनोस । र यो आउने हिउँदे अधिवेशन यही गर्न पाए राम्रो हुन्छ भन्ने कुरा त्यही हो ।’

बाँकि भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरुले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।

शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको संख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताए ।

उनका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ । बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भईरहेको मन्त्रालयका सचिव गेलाले बताए ।

यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =