माओवादीलाई डा. शेखरको प्रश्न– १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनु भयो ? (भिडिओ)
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए ।
उनले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए ।
‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो । यो संविधान के खराबी छ र ? यसमा कमी कमजोरी के छ ? चल्दै थियो, किन गर्ने ? भन्नेकुराहरु आए । तर उहाँहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो,’उनले भने,‘१० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उहाँहरूले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ । केके कुरामा पुनरावलोकन गर्ने भन्नेकुरा पक्कै पनि आउँछ ।’
उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुसी प्रकट गरे ।
उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।
‘नेपाली काँग्रेस र एमालेको सरकार त बन्यो, यो सरकारको प्राथमिकतामा संविधान सुधार, पुनरावलोकन, परिमार्जन भन्नुस्, के गर्ने हो ? त्यसलाई प्राथमिकतामा राख्नुभएको छ,’ उनले भने, ‘साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरालाई पनि उहाँहरुले अत्यन्त महत्वपूर्ण तरिकाले राख्नुभएको छ । आर्थिक विकासका कुराहरूलाई द्रुत गतिमा लैजाने भनेर सात बुँदे सम्झौतामा यी कुराहरू छन् ।’
सांसद कोईरालाले काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले खादा, माला र स्वागतमै समय बिताइरहेको बताए ।
आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताए ।
‘मन्त्रीहरू बन्नुभएको छ नेपाली काँग्रेसबाट १० जना जानुभएको छ । खादा, माला र स्वागतमै उहाँहरूको धेरै समय बितिरहेको छ,’उनले थपे,‘उहाँहरू आफैँ भन्नुहुन्छ । मैले आग्रह गरेँ, मन्त्रालयको काम गर्न ध्यान दिनुस् भनेको छु । उहाँहरू सचेत भएर अघि जानुपर्छ ।’
सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताए । उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए ।
उनले राष्ट्रलाई प्राथमिकतामा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताए ।
‘यसचोटी यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन । कुनै किसिमको कमी कमजोरी हुन दिनु हुँदैन । किनभने दुई ठूला दल मिलेर सरकार बनेको छ । जनतामा निराशा व्याप्त छ । यो अवस्थाबाट आशा र भरोसा दिलाउनु छ,’उनले भने,‘निराशा चिर्नु छ र सँगै आर्थिक विकासमा फड्को मार्नुपर्छ । यो सबै गर्न कठिन छ तर चुप लागेर बसेर हुँदैन । जनताको निराशा चिर्न आशा कसरी जगाउन सक्छौँ त्यो गर्नुपर्छ । आशा जगाउने नाउँमा राष्ट्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ ।’
राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए ।
उनले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बताए ।
दुई तिहाइ बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताए । सांसद कोईरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली काँग्रेसले भुमिका खेल्ने बताए ।