प्रधानमन्त्रीको दाबी- ‘सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्यो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भ्रष्टाचार गर्नेहरूसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे ।

उनले भने ‘वस्तुतः आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्बनापूर्ण आधार बन्यो । हामीले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र भनेनौँ, समाजवादउन्मुख राष्ट्र निर्माणको पनि संकल्प गर्याैँ  । यसको केन्द्रीय सिद्धान्त जनताको सम्प्रभुता हुनुपर्ने हो । बाँकी सबै जनताका सेवक हुनुपर्ने हो । तर, व्यवहारमा त्यो भएन । भिआइपी कल्चर सुरु भयो । एउटा वर्गले सरकारी जग्गा लुटे पनि हुने भयो । तस्करी गरेपनि हुने भयो । कानूून मिचे पनि हुने भयो । यसले आम जनतामा घृणा र आक्रोश बढायो र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था पैदा भयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा, प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाइसकेका थिए । तर मैले त्यो वर्गसँग सम्झौता गरिनँ । म जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने जुन परिस्थिति आज बन्यो, त्यो सरकारले कानूूनको पालना गराउने, विधिको शासन सुरु गर्ने र सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिवद्धताका कारण बन्यो । सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ ।’

उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरू डराएको बताए । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खलबलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे । उनले जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरूको हातमा जाने जिकिर गरे ।

उनले भने ‘सरकारको सुशासन अभियानले हिजोसम्म कानूूनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो । जनतालाई मेरो अपिल छ, जाग्नुस् र तपाईँहरूले पनि अब आफ्नो शक्ति देखाउनुस् । जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ ।’

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =