द डार्क फाइलबारे सांसद खतिवडा–दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले काठमाडौं जिल्ला अदालतमा पेश भएको द डार्क फाइलको मुद्दामा दुई पटक प्रहरीले बयान लिएको व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले द डार्क फाइलको मुद्दामा राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गानालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको उल्लेख गरे ।

उनले २ जना मान्छे प्रहरीको सम्पर्कमा नभएको भन्दै राजकुमार तिमल्सिनालाई प्रहरीले दुईचोटी बयान लिएर पनि फरार अभियुक्तको रूपमा मुद्दा अदालतमा पेश गरिएको बताए ।

उनले बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएकोप्रति गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।

उनले भने – ‘१४ गते काठमाडौं जिल्ला सहकारीमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने मुद्दा प्रस्तुत भएको छ । यो मुद्दामा ३ जना अभियुक्त बनाइएको छ, राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गाना । तिमध्ये २ जना मान्छे सिआईबिमा सम्पर्कमा भएनन् । तर राजकुमार तिमल्सिनालाई दुईचोटी बयान लिएर नेपाल प्रहरीको सिआइबिले फरार अभियुक्तका रूपमा अदालतमा पेश गरिएको छ । कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने भन्ने मान्छेको नाममा मुद्दा चलाउँदाखेरी तत्कालिन एआईजीलाई कारबाहीको प्रस्तावसम्म गरियो भने तर अहिले बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा, किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो । यो आपत्तिजनक छ कसको निर्देशनमा भयो यसको जवाफ गृहमन्त्रीले सदनमा दिनुपर्छ भनेर आग्रह गर्न चाहन्छु । दुई पटक सिआइबिमा बयान लिएको मान्छेलाई के आधारमा फरार अभियुक्त भनेर अदालतमा पेश गरियो त्यसको जवाफ छिटोभन्दा छिटो सदनलाई जानकारी गराइयोस् ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आफ्नो जिल्लामा विशेष क्षमता भएका व्यक्तिले खुट्टाले लेखेर एसइईमा ३.३७ जिपिए प्राप्त गरेको भन्दै उनको आगामी पढाइको ग्यारेन्टी लिन सरकारसँग माग गरे ।

उनले भने – ‘गुल्मी छत्रकोटा गाउँपालिकामा एक्स्ट्राएबल बच्चाहरु भेटिएका छन् । जसको कुनै अंग चल्दैन । अहिलेको एसईई परीक्षामा खुट्टाले लेखेर ३.३७ जिपिए प्राप्त गरेका छन् । उनले विज्ञान पढ्ने भने मसँग । सरकारले तिम्रो पढाइको ग्यारेन्टी लिन्छ भन्नुपर्‍यो । यही कुरा मैले अनुरोध गर्न चाहे ।’

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बचाउन असुरक्षित स्थानमा रहेका बसोवासलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए ।

उनले उच्च रूपमा सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले घटना हुनासाथ उद्धार, उपचार र पुनःस्थापनाको लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने – ‘निकै असुरक्षित ठाउँमा रहेका बसोबासहरूलाई सरकारले समयमा नै ध्यान पु¥याएर सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने र सरकारका कतिपय निकायहरूलाई व्यवस्थित रूपमा परिचालनको उच्चस्तरीय सतर्कता अपनाएर व्यवस्थित रूपमा उनीहरूलाई साधन, स्रोत ल्याइपु¥याउने । घटना घट्नेबित्तिकै उद्धारको लागि सहज वातावरण बनाउने कुरामा अझैपनि कमी आएको छ । सुचना मात्रै दिने होइन । राज्यको काम भनेको सुचनाको अतिरिक्त आपत पर्दाखेरी तत्काल उपस्थित भएर जनतालाई उद्धार गर्ने हो । प्राकृतिक प्रकोपमा परेका जनसमुदायहरुलाई उच्च सतर्कतासहित राज्यले सही निकास देओस् । उपचारको व्यवस्था मिलाओस् । सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाओस् । र घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाओस् ।’

उनले सरकारको काम विपद्को सूचना मात्रै दिने नभइ विपद् हुनासाथ तत्काल उपस्थिति जनाएर जनताको उद्धार गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =